रुसद्वारा युक्रेनमाथि आक्रमण सुरु, उद्धारको पर्खाइमा नेपाली

Avatar photo
Dhadingpost
बिहिबार, फाल्गुन १२, २०७८

काठामाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको डोनबास क्षेत्रमा “सैन्य कारबाही”को घोषणा गरेका छन् । पुटिनले पूर्वी युक्रेनस्थित युद्ध क्षेत्रबाट आफ्ना हतियारहरू बिसाउन र घर फर्कन युक्रेनी सेनालाई आग्रह गरेका छन् । युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आक्रमणले युरोपेली महाद्वीपमा “ठूलो युद्धको सुरुवात हुनसक्ने” बताएका छन् ।

उनले राति ढिलो गरी देशवासीलाई सम्बोधन गर्दै यदि रुसले हमला गरे “हामी आफ्नो रक्षा आफैँ गर्छौँ” भन्ने वाचा गरेका थिए । बीबीसीका अनुसार युक्रेनी प्रहरीले रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको छ । अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन् ।
त्यहाँ अन्य १९ जना हराइरहेका छन् ।

रुसको आक्रमण सुरुभए सँगै युक्रेनको राजधानी किएभमा रहेका नेपालीहरूले सरकारले तत्कालै अन्य देशले जस्तै उद्धारका लागि जहाज पठाउनुपर्ने माग गरेका छन् ।

नेपालले युक्रेन/रुस तनावबारे बोल्दै विकसित घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । बिहीवार एउटा वक्तव्य जारी गर्दै परराष्ट्र मन्त्रालयले तनाव बढ्न नदिन सम्बन्धित सबै पक्षलाई अधिकतम संयम अपनाउन अपील गरेको छ ।

संयुक्त राष्ट्रसङ्घको सदस्यको हैसियतमा नेपालले राष्ट्रसङ्घीय वडापत्रमा उल्लिखित सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताका सिद्धान्तलाई कुनै पनि सदस्य राष्ट्रले उल्लङ्घन गर्न नमिल्ने र यसको पूर्ण रूपमा सम्मान गर्नुपर्ने धारणा राख्छ, नेपालले भनेको छ ।

युक्रेनका डोनेट्स्क र ल्युहान्स्कलाई स्वतन्त्र क्षेत्रको रूपमा मान्यता दिनु राष्ट्रसङ्घीय वडापत्रमा भएका प्रावधानविपरीत भएको पनि नेपालले उल्लेख गरेको छ ।