
काठमाडौं । प्रतिनिधि सभामा पेस भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन, एमसीसी सम्झौताबारे आजदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुने भएको छ ।
प्रमुख विपक्षी दल नेकपा (एमाले) को अवरोधबीच सैद्धान्तिक छलफल प्रारम्भ हुन लागेको हो । एमसीसीको सैद्धान्तिक छलफल प्रारम्भअघि महान्यायाधिवक्ता कार्यालयको प्रतिवेदन पेसको कार्यसूची रहेको छ । सरकारका तर्फबाट कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले प्रतिवेदन पेस गर्नुहुनेछ । सैद्धान्तिक छलफलमा सम्झौताका सिद्धान्तमाथि बहस हुनेछ ।
जसमा सभामुखले तोकेको समयसम्म नाम टिपाउने सदस्यहरूले धारणा राख्न पाउनेछन् । सैद्धान्तिक छलफलपछि विभागीय मन्त्रीले जवाफ दिनुपर्नेछ । साथै जवाफपछि सैद्धान्तिक छलफलको प्रस्ताव स्वीकार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस हुनेछ । सैद्धान्तिक छलफलपछि दफावार छलफल हुनेछ । दफावार छलफलमा सम्झौताको दफागत रूपमा विस्तृत छलफल हुनेछ । दफावार छलफलपछि भने सम्झौता पारितको चरणमा जानेछ ।
पारितका लागि प्रतिनिधि सभामा उपस्थित सङ्ख्याको बहुमत आवश्यक पर्नेछ । ध्वनि मत वा मत विभाजन दुवै प्रकारबाट पारित प्रक्रिया अघि बढ्न सक्नेछ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) को अवरोध जारी रहेकै अवस्थामा भने सम्झौता पारितमा मत विभाजनबाट सहज हुने अवस्था छ ।