सल्यान्टारमा जनप्रतिनिधिको किर्ते कागज, जग्गा र बुढीगण्डकीको मुअब्जा समेत अर्कैले खाए

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन १०, २०७८

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ सल्यानटारका एक दरै परिवारको जग्गा स्थानीय जनप्रतिनिधिको मिलेमतोमा छिमेकीले कब्जा गरेका छन् । भारतमा रोजगारीका लागि गएका सल्यानटारका कृष्ण बहादुर दरै र उनको दुईजना भाईको जग्गा जनप्रतिनिधिको मिलेमतोमा खाईदिएको खुलेको छ ।

सल्यानटार ३/झ अन्तरगत ७ कित्ता ९ रोपनी ९ आना ३ दाम जग्गा २०७६ सालमा कृष्णबहादुरका ठुलोबाबुको छोरो मनबहादुर दरैले नक्कली कागज बनाएर जग्गा खाएपछि दरै परिवार बिचल्लीमा परेका छन् । मजदुरी गर्दै जीवन धानीरहेका कृष्णबहादुर परिवार गाउँ आउँदा आफ्नो जग्गा अरुले खाएको थाहा पाएपछि जिल्ला प्रशासन कार्यालयमा आईतबार उजुरी दिए ।

मनबहादुरले कृष्णबहादुर समेत २०४६ जेठ २६ गते देखि हराईरहेको र आफु नजिकैको हकदार भनेर किर्तेकागज बनाई बुढीगण्डकि जलविद्युतको मुअब्जा समेत खाएको कृष्णबहादुरले दिएको उजुरीमा उल्लेख छ । २०४६ मा बेपत्ता भएको भनिएका कृष्णबहादुरले २०५४ साउन १२ गते जिल्ला प्रशासन कारर्यालय धादिङबाट नागरिकता बनाएको देखिन्छ ।

अर्को किर्ते कुरा समेत २०७६ सालमा बनाईएको कागजहरु जिल्ला प्रशासन कार्यालयमा बुझाइएको छ । २०७६ मा बनाईएको कागजमा कृष्णबहादुर हराएको बेलामा नजन्मिएका सपना दरै र भरखर जन्मिएका सुर्यबहादुर दरै साक्षी बसेको देखाईएको छ । तत्कालिन वडा सचिव नारायण थपलियाले तयार पारेको सर्जमिन मुचुल्कामा कार्यवहाक वडाअध्यक्ष बनाईएका रामहरी गिरिले रोहबरमा हस्ताक्षर गरेका छन् ।

नेपाली कांग्रेसको टिकटबाट निर्वाचित त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष भोजबहादुर रिजालले कृष्णबहादुर दरै समेत बेपत्ता भएकोले कृष्णबहादुरको आमाको नाममा रहेको जग्गा र सम्पती मनहादुरको नाममा नामसारी गरिदिन गाउँपालिका कार्यालय र मालपोत कार्यालयलाई सिफारिस समेत गरेका थिए ।

जिल्ला मालपोत कार्यालयले समेत कानुन विपरित बेपत्ता भएका व्यक्तिको खोजि नगरि थप किर्ते कागज बनाएर जग्गा नामसरि गरिदिएको देखिन्छ । कोहि मानिस वेपत्ता भयो भने देवानी संहिता २०७४ को दफा ४० बमोजिम जिल्ला अदालतले बेपत्ता घोषणा भएको प्रमाणित गर्नु पर्ने हो । तर मालपोत कार्यालयले आफैले टिप्पणी उठाएर नामसारी गरेको देखिन्छ । जिल्ला मालपोत कार्यालयमा तत्कालिन अवस्थामा मालपोतअधृतको रुपमा कार्यरत पुरषोत्तम भण्डारी धादिङबाट सरुवा भईसकेकोले टेलिफोनबाट सम्पर्क गर्न सकिएन ।

आफ्नो नाममा जग्गा आएपछि मनबहादुरले बुढीगण्डकी जलविद्युत आयोजनाबाट ६३ लाख ७५ हजार ५ सय ३९ रुपैयाँ मुअब्जा समेत लिएको देखिएको छ । कृष्णबहादुर दरै बेपत्ताको सम्बन्धमा वडाअध्यक्ष भोजबहादुर रिजालले गाउँलेको मुचुल्का र मनबहहादुरको निवेदनको आधारमा मालपोत कार्यालयलाई सिफारिस गरेको बताउँछन् ।