
काठमाडौं । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आयोजक ओमानलाई जितका लागि १ सय १८ रनको लक्ष्य दिएको छ ।
ओमानको मस्कटमा रहेको अल अमरेत क्रिकेट मैदान-१ मा टस हारेर ब्याटिङ थालेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय १७ रन बनायो । नेपालका आरिफ शेखले ३७ बलमा २ चौका सहित सर्वाधिक ३८ रन बनाए । कप्तान सन्दीप लामिछाने ७ बलमा १ चौका र १ छक्कासहित १६ रनमा अविजित रहे ।
नेपालका ओपनर आसिफ शेख र कुशल भुर्तेल सुरुवातमै आउट भएका थिए । तीव्र गतिका बलर बिलाल खानको पहिलो ओभरको अन्तिम बलमा आसिफ मिडअनमा खवर अलीबाट ४ रनमा क्याच अउट भए । बिलालको तेस्रो ओभरको चौथो बलमा अर्का ओपनर कुशल मिडविकेटमा ५ रनमा खवरबाटनै समातिन पुगे । दुबै ओपनर आउट हुँदा नेपालले १२ रन मात्र बनाएको थियो ।
ज्ञानेन्द्र मल्ललाई तीव्र गतीका बलर फैज बटले सातौं ओभरको पाँचौं बलमा १५ रनमा बोल्ड गरे । ज्ञानेन्द्रले १५ बलमा २ चौका प्रहार गरे । ज्ञानेन्द्र आउट हुँदा नेपाल ३३–३ को अवस्थामा पुगेको थियो । ज्ञानेन्द्र आउट भएको दुई ओभरपछि प्रमुख ब्याटर दीपेन्द्रसिंह ऐरी पनि आउट भएपछि नेपाल समस्यामा परेको थियो ।
दीपेन्द्र नवौं ओभरको तेस्रो बलमा जिशान मकसुदलाई अघि बढेर सट खेल्नेक्रममा ११ रनमा विकेटकिपर नसिम खुशीबाट स्टम्पिङ आउट भए । १८ बल खेलेका दीपेन्द्रले १ चौका प्रहार गरे । खवर अलीको १४ औं ओभरको दोस्रो बलमा लोकेश बम ठूलो सट खेल्ने धुनमा लङअफमा कलिमुल्लाहबाट १६ रनमा क्याच आउट भए ।
१७ बल खेलेका लोकेशले १ छक्का प्रहार गरे । अलीको १६ औं ओभरको अन्तिम बलमा विवेक स्विच हिट सट खेल्नेक्रममा फैज बटबाट ७ रनमा क्याच आउट भए । कमलसिंह ऐरी १ रनमा आउट भए । ओमानका स्पिनर खवर अलीले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । बिलाल खानले ३ ओभरमा २५ रन खर्चेर २ विकेट लिए । फैज बट र जिशान मकसुदले १–१ विकेट लिए ।