खेलकुद विकास समिति धादिङका अध्यक्ष तामाङ पदमुक्त

Avatar photo
Dhadingpost
शुक्रबार, फाल्गुन ६, २०७८

धादिङ । जिल्ला खेलकुद विकास समिति धादिङका अध्यक्ष प्रताप सिं तामाङ पदमुक्त भएका छन् । बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले प्रदेश खेलकुद नियमावली संशोधन गरि जिल्ला खेलकुद विकास समिति अध्यक्षको पधावधी २ वर्षमात्रै कायम गर्ने निर्णय गरेपछि उनी पदमुक्त भएका हुन् ।

‘अघिल्लो सरकारले हतारमा पदावधी नै कायम नगरी नियुक्त दिएकाले त्यसलाई व्यवस्थित गर्न नियमावली संसोधन गरेर २ बर्षको पधावधी कायम गरिएको हो ।’ प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद शर्मा खनालले भने ।

धादिङका अध्यक्ष तामाङलाई तत्कालिन मुख्यमन्त्री डोरमणि पौडेल नेतृत्वको सरकार कायम रहँदा २०७६ माघ २२ गते खेलकुद विकास समितिको अध्यक्षमा नियुक्त गरिएको थियो । उनी माओवादी कोटाबाट धादिङको अध्यक्ष भएका थिए । स्रोतका अनुसार प्रदेश सरकारले नयाँ खेलकुद अध्यक्ष तोक्ने क्रममा धादिङ जिल्ला फेरि माओवादी कोटामा पर्यो भने प्रताप नै अध्यक्ष बन्न सक्ने सम्भावन बलियो छ ।

प्रदेश सरकारको सो निर्णय अनुसार तामाङसँगै नियुक्त भएका प्रदेशका अन्य जिल्लाका खेलकुद विकास समिति अध्यक्ष पनि पदमुक्त भएका छन् । त्यस्तै मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईंलाई पनि बर्खास्त गर्ने निर्णय गरेको छ ।