कांग्रेसले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियान चलाउने

Avatar photo
Dhadingpost
मङ्लबार, फाल्गुन ३, २०७८

काठमाडौं । नेपाली कांग्रेसले स्थानीय निर्वाचनमा पार्टीलाई जिताउन अभियान चलाउने भएको छ । मंगलबार केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि कांग्रेस प्रवक्ता प्रकाशशरण महतले ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ भन्ने अभियान सुरु गरिने बताए ।

अभियानमा कांग्रेसका सम्पूर्ण पंक्ति खटिने उनले बताए । सो अभियान फागुन २० गतेदेखि चैत २० गतेसम्म निरन्तर चल्ने महतको भनाइ छ । ‘स्थानीय निर्वाचन वैशाख ३० गते हुँदैछ । निर्वाचन तोक्ने सरकारको निर्णयलाई स्वागत गरेका छौं। सम्पूर्ण एकता र सक्रियताका साथ निर्वाचनमा सहभागी हुने निर्णय गरेका छौं’, प्रवक्ता महतले भने ।

कांग्रेसले विधानअनुसार महाधिवेशन गर्न नसकी अवधि समाप्त भएका सबै भ्रातृ संस्थाहरू विघटन गर्ने निर्णय गरेको छ । कांग्रेसको केन्द्रीय कार्य सम्पादन समिति बैठकले नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ, नेपाल मुस्लिम संघलगायतका कार्यसमिति भंग गर्ने निर्णय गरेको हो ।

योसँगै कांग्रेस केन्द्रीय सदस्यमा निर्वाचित भएका भ्रातृसंस्थाका पदाधिकारीहरू पनि भ्रातृ संस्थाको जिम्मेवारीबाट मुक्त भएका छन् । बैठकले भ्रातृ एवं शुभेच्छुक संस्थाहरूको विधानसमेत पारित गरेको छ । विधान पारित भएसँगै नेपाल विद्यार्थी संघमा अब ३२ वर्षे उमेर हद लागु भएको छ । त्यस्तै तरुण दलमा ४५ वर्षको उमेर हद लगाइएको छ ।