गोरखा । गोरखामा हिउँ खेल्न गएका दुई किशोर मृत अवस्था फेला परेका छन् । हिउँ खेल्न गएका बारपाक सुलिकोट गाउँपालिका–१ का १६ वर्षीय करण घले र वडा नम्बर २ का सञ्जय घले मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोरखाले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालका अनुसार, उनीहरू आइतबार मृत अवस्थामा फेला परेका हुन् । उनीहरुको शव धार्चे गाउँपालिका–१ कुन्द्रामा खोंचमा स्थानीयबासी र प्रहरीको संयुक्त खोजी टोलीले फेला पारेको हो । मृतक दुबै जना साथी हुन् ।
प्रहरीका अनुसार, उनीहरु गत माघ २० गते हिउँ खेल्न भन्दै धार्चे गाउँपालिकास्थित लाप्राक हिँडेका थिए । तीन दिनसम्म फर्केर नआएपछि आफन्तले प्रहरीलाई खबर गरेको र खोजतलासको क्रममा आइतबार मृत अवस्थामा भेटिएको हो ।