जनकपुर । मधेस प्रदेश सरकारले अगामी फागनु १ गते जनयुद्ध दिवस मनाउने भएको छ । प्रदेशको आठवटै जिल्लाका ४० सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गरिने बताईएको छ ।
विगत तीन वर्षदेखि माघ ५ गतेलाई मधेस बलिदानी दिवसका रूपमा मनाउँदै आएको प्रदेश सरकारले पहिलोपटक फागुन १ गते जनयुद्ध दिवस मनाउने तयारी गरेको हो ।
यसक्रममा सहिद परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने भएको छ । आगामी फागुन १ गते ती परिवारलाई सम्मान र आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रम तय भएको प्रदेश सरकारले जनाएको छ ।
आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयअन्तर्गतको मधेसी सहिद प्रतिष्ठानले आयोजना गर्ने कार्यक्रमलाई पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम तय भएको मन्त्रालयका सचिव रामकुमार महतोले बताए ।