
काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी दर्ता बैशाख २ गते गर्ने आन्तरिक कार्ययोजना बनाएको छ । दल दर्ता सकिएपछि आचारसंहिता लागू हुनेछ । ‘यो सम्भावित खाका हो, फेरबदल हुन सक्छ,’ एक आयुक्तले भने ।
आयोगको प्रारम्भिक खाकाअनुसार वैशाख १४ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गरिनेछ । आयोगले स्थानीय तहको निर्वाचनमा १ करोड ७८ लाख मतदाता हुने अनुमान गरेको छ । २०७४ को स्थानीय चुनावमा १ करोड ४० लाख ७४ हजार ४ सय २४ मतदाता थिए ।
निर्वाचन हुन ९४ दिन मात्रै छ । निर्वाचनमा ११ हजार ७ सय ८२ मतदान स्थल, ७ सय ५३ निर्वाचन कार्यालय, ७७ वटा जिल्ला निर्वाचन कार्यालय रहने छ ।
जनशक्ति परिचालनका विषयमा कार्यदलले ३ दिनभित्र सिफारिस गर्ने र त्यही आधारमा निर्देशिका बनाइने आयोगले जनाएको छ । २०७४ को स्थानीय चुनावमा १० हजार ६ सय ४२ मतदान स्थलमा १८ हजार ५ सय ७३ वटा मतदान केन्द्र निर्धारण गरिएको थियो ।