धादिङका ४१२ जना बालबालिका कुपोषित

Avatar photo
Dhadingpost
मङ्लबार, माघ २५, २०७८

धादिङ । बागमती प्रदेश स्वास्थ्य निर्देशनालय हेटौंडाले जनाए अनुसार धादिङ जिल्लामा कुपोषित ४१२ जना बालबालिका रहेको जनाएको छ ।

स्वास्थ्य निर्देशनालयका अनुसार धादिङमा ११ महिनासम्मका बालबालिका १ सय ९७ जना र एक वर्षदेखि २३ महिनासम्मका बालबालिकाको संख्या धादिङमा २ सय ७५ गरी ४१२ जना बालबालिका कुपोषित छन् ।

प्रदेशका १३ जिल्लामध्ये ललितपुरमा कुपोषित हुने ११ महिनासम्मका बालबालिकाको संख्या सर्वाधिक (७०४ जना) चितवनमा यो संख्या २ सय ७ छ  । यसैगरी, कुपोषित हुने एक वर्षदेखि २३ महिनासम्मका बालबालिकाको संख्या चितवनमा २ सय २० छ । प्रदेशभरिमा कुपोषित हुने बालबालिकाको संख्या सबैभन्दा कम रसुवामा छ । यहाँ ११ महिनासम्मका २ जना र एक वर्षदेखि २३ महिनासम्मका ६ जना मात्रै कुपोषित रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका स्वास्थ्य निर्देशक महेश्वर श्रेष्ठले बताए  ।

वाग्मती प्रदेशमा २३ महिनासम्मका एक लाख ५४ हजार ७ सय ५९ बालबालिका छन्  । तीमध्ये २ हजार ५ सय ९५ बालबालिका कुपोषणले ग्रसित रहेको उनले बताए । जसमध्ये गम्भीर खालका कुपोषितको संख्या ९ सय ५५ जना छन्  ।

‘खाद्य असुरक्षा, गरिबी र चेतनास्तर कमजोर भएका गाउँबस्तीका अधिकांश बालबालिकाहरू कुपोषणले ग्रसित भेटिएका छन्,’ उनले भने, ‘कुपोषणबाट बालबालिकालाई मुक्त गर्नका लागि निर्देशनालय, स्वास्थ्य कार्यालयलगायतले विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ  ।’