
काठमाडौं । नेपाली बजारमा पेट्रोलको मूल्य प्रति लिटर १४२ पुग्दा पनि आयल निगमले १५ रुपैयाँ प्रतिलिटर घाटामा रहेको बताई रहेको छ । विश्व बजारमा तेलको मूल्य अझै बढ्ने संकेतहरु देखिएका छन् ।
हालको मूल्य १४२ प्रतिलिटर पुग्दा भारतीय आयल निगमबाट नेपाल आयल निगमले सीमामा खरिद गर्ने पेट्रोलको मूल्य ८४.३३ प्रतिलिटर रहेको हो । यसमा सरकारले प्रति लिटर ५८.४८ रुपैयाँ कर लगाएको छ । सरकार पेट्रोलियम पदार्थमा भारी कर थुपार्ने र बाह्य मुल्यबृद्धिलाई बढावा दिने गरेको पाईएको छ ।
डेढ वर्षमा प्रतिलिटर १०० रुपैयाँभन्दा कम मूल्य रहेको पेट्रोलको मूल्य बढेर १४२ पुर्याइएको छ । त्यतिबेला १०० रुपैयाँभन्दा कम मूल्यमा बेच्दा पनि निगम नाफामा थियो । अहिले १४२ पुर्याउँदा पनि घाटामा छ । डिजेलमा पनि घाटा छ । खाना पकाउने एलपी ग्याँसमा पनि ठूलो घाटा व्यहोर्दै आइरहेको छ ।
निगमले मासिक ५ अर्बको घाटा व्यहोर्ने अवस्था बनिसकेको छ । अर्कोतर्फ, मासिक २० अर्बभन्दा बढी रकम इन्धनमै विदेशिन थालेको छ । तर, सरकार इन्धनको वैकल्पिक व्यवस्थामा गम्भीर छैन । खाना पकाउने एलपी ग्याँसको विकल्पमा विद्युतीय सामाग्री प्रयोगबाट खपत घटाउन सकिन्छ । देशमा विद्युत पर्याप्त उत्पादन भइसकेको छ । मूल्य घटाएर खपत बढाउन सके देशको मुद्रा विदेशिन कम हुनसक्छ ।