काठमाडौं । टर्की र ग्रीसको सीमानजिकै चिसोले कठ्यांग्रिएर मृत्यु हुने आप्रवासीको संख्या २२ पुगेको छ, नेपाली पनि सम्पर्क विहिन भएको हुन सक्ने टर्कीस्थित गैरआवासीय नेपाली संघले जनाएको छ ।
युरोप छिर्न टर्की हुँदै ग्रीस जानेहरु आप्रवासीहरु उक्त सीमामा जम्मा भएका थिए उनीहरुको चिसोले कठ्यांग्रिएर मृत्यु भएको टर्कीका आन्तरिक मामिलामन्त्री सुलेमान सोयुलु बताएका छन् ।
अवैधानिक रूपमा युरोप जान खोज्ने आप्रवासी कामदार टर्की हुँदै ग्रीस प्रवेश गर्ने गरेको पाइन्छ । ग्रीसको सीमा बलले २२ जनाको आप्रवासीहरूको समूहविरुद्ध ठगले झैं काम गरेको मन्त्री सोयुलुको भनाइ छ । मृत्यु हुनेहरू त्यही २२ जनाको समूहका व्यक्ति भएको उनले जानकारी दिएका छन् । उनले युरोपेली युनियनले पनि मानवीय व्यवहार नदेखाएको आरोप लगाएका छन् ।
टर्कीस्थित गैरआवासीय नेपाली संघले मृत्यु हुनेहरुमा नेपालीहरु पनि हुनसक्ने जनाएको छ । कञ्चनपुरको कृष्णपुर-२ बंकका वर्षीय दिव्यदेव अवस्थी केही दिनदेखि बेपत्ता भएको भन्दै नेपालस्थित उनको परिवारले सोधखोज गरेको छ ।
हिमपातमा परेपछि उनी सम्पर्कविहिन भएको टर्कीस्थित उनका साथीहरुले समेत बताएका छन् । काठमाडौं सिनामंगलको मेट्टा इन्टरनेसनल मेनपावर कम्पनीबाट उनी दसैंअघि टर्की पुगेको परिवारले जनाएको छ । मंगलबारदेखि कुरा हुन नसकेको अवस्थीको परिवारको भनाई छ ।
टर्की मामिलास्थित हेरिरहेका पाकिस्तानका लागि नेपाली राजदूत तपस अधिकारीले उक्त घटनामा नेपालीहरु परे वा नपरेको कुरा बुझ्ने काम भैरहेको बताएका छन् ।