
काठमाडौं । नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेड र काठमाण्डौ तीनकुनेमा रहेको कान्तिपुर अस्पतालबाट नक्कली पीसीआर रिपोट बनाई दिएको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरिएको र २ जना फरार रहेको जनाएको छ ।
बैदेशिक रोजगारमा जाने ब्यक्तिहरुका लागि आवश्यक पर्ने पीसीआर रिपोर्ट बढी रकम लिई स्वाबको नमुना समेत नलिई नक्कली रिपोर्ट बनाईदिने गरेको कारण उनीहरुलाई पक्राउ गरिएको महानगरीय अपराध महाशाखाले जनाएको छ ।
महाशाखाले दिएको जनाकारी अनुसार पक्राउ पर्नेमा धनुषा बिदेह नगरपालिकाका रोसन कुमार छिट्टान, धनुषा छिरेश्वरका नागेन्द्र यादव, काभ्रेपलान्चोक तेमालका माधव मैनाली, सर्लाही बलरा प्रसन्न कुमार झा रहेका छन् ।
नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडका कर्मचारी परिचयपत्र भएका रोशन कुमारलाई नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटल लिमिटेडबाट ८ थान नक्कली पीसीआर परीक्षण रिपोर्ट सहित, नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलका ल्याब म्यानेजर प्रसन्न कुमार झालाई कान्तिपुर अस्पतालको परिचय पत्र भएका नागेन्द्र कुमार यादवलाई १७ थान नक्कली पिसीआर रिपोर्ट सहित सोही अस्पतालको ल्याबबाट माधव मैनालीलाई पक्राउ गरिएको बताईएको छ ।