
काठमाडौं । नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजेल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ । यो मूल्य इतिहासकै उच्च हो ।
निगमका अनुसार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर तीन–तीन रुपैयाँ वृद्धि गरिएको छ । मंगलबार मूल्य समायोजन गर्दा ग्यासको मूल्य १५ सय ७५ नै यथावत् राखिएको छ । तर, यो मूल्य पनि अहिलेसम्मकै उच्च हो ।
आन्तरिक हवाई इन्धनको प्रतिलिटर १० रुपैयाँ बढाएर एक सय १६ रुपैयाँ तथा बाह्य हवाई इन्धनको प्रतिकिलोलिटर सय डलरले बढाएर एक हजार ९५ डलर निर्धारण गरिएको छ ।
यसअघि ७ भदौ, १२ कात्तिक, २४ कात्तिक र ५ माघमा मूल्यवृद्धि गरेको थियो । यस अवधिमा पेट्रोल, डिजेल र मट्टीतेल समान १४ रुपैयाँ र आन्तरिक हवाई इन्धनको ३० रुपैयाँ प्रतिलिटर मूल्यवृद्धि भइसकेको छ । बाह्य हवाई इन्धन प्रतिकिलोलिटर तीन सय २५ डलर र खाना पकाउने एलपी ग्यास एक सय २५ रुपैयाँ प्रतिसिलिन्डरले महँगिएको छ ।