
धादिङ । धादिङकी ६० वर्षीया कृष्णमाया विककी २० महिने नाति कान्ति बाल अस्पताल महाराजगन्जको कोभिड वार्डमा उपचाररत छन् ।
ज्वरो आउने, पातलो सिंगान बग्ने समस्या भएपछि उनलाई शनिबार अस्पताल ल्याइएको हो । पीसीआर परीक्षण गर्दा पोजिटिभ देखियो ।
‘बिहीबारसम्म ठिकै थियो,’ विक भन्छिन्, ‘बहिनीको बिहे भोजबाट बुहारी फर्केदेखि बच्चा बिरामी पर्यो । महामारीका बेला नहिँड्नु त भनेको थिएँ ।’ भोजमा हुने भीडभाडबाट कोभिड सरेको विकको अनुमान छ ।
कान्तिमा कोभिडका लागि छुट्याइएका २६ बेड भरिएका छन् । चार वटा भेन्टिलेटर पनि प्याक छन् । कोभिड बिरामी नवजात शिशुदेखि १३ वर्षसम्मका उपचाररत छन् । सबैजसो बिरामीमा आफन्त वा अभिभावकबाटै संक्रमण सरेको चिकित्सकहरूको अनुमान छ ।
अस्पतालका निर्देशक डा. अजित रायमाझी भन्छन्, ‘खोप लगाएका धेरैजसो अभिभावकले स्वास्थ्य मापदण्ड पालनामा हेलचेक्राई गरे । खोप लगाएका कतिपयलाई संक्रमित भए पनि लक्षण नदेखाउन सक्छ । बालबालिकामा रोगप्रतिरोधात्मक क्षमता कम हुने भएकाले सजिलै संक्रमण सर्ने गरेको हो ।’ यो समाचार आजको कान्तिपुरमा छ ।