सभामुख श्रेष्ठको भूमिका समन्वयकारी भएन -मुख्यमन्त्री पाण्डे

Avatar photo
Dhadingpost
मङ्लबार, माघ १८, २०७८

धादिङ । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले सभामुख सानुकुमार श्रेष्ठको भूमिका समन्वयकारी नभएको भन्दै आलोचना गरेका छन् ।

आज हेटौंडामा बागमती प्रदेशसभाको चौथो वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै पाण्डेले सभामुख सबैको साझा हुन नसकेको आरोप लगाए ।

प्रदेशसभा सुचारु गर्ने सन्दर्भमा सभामुखले आफ्नो पदीय गरिमालाई भुलेर प्रतिपक्षको अनुकुलतामा चलेको उनले आरोप लगाए । ‘सभामुख सबैको साझा हुनुपर्छ, उहाँलाई सबैको साझा भएको अनुभूति हुने गरी काम गर्न म सुझाव दिन चाहान्छु । ’ पाण्डेले भने ।

प्रतिपक्षी दल नेकपा एमालेले वर्तमान सरकारले मन्त्रालय विभाजनको औचित्य पुष्टि गर्नुपर्ने माग गर्दै प्रदेशसभा अवरुद्ध पार्दै आएको छ । सरकार संचालनको लागि पर्याप्त नीनि नियमसमेत निर्माण भइनसकेको अवस्थामा सदन अवरुद्ध भएको छ । मुख्यमन्त्री पाण्डेले सभामुख श्रेष्ठले त्यसलाई सुचारु गर्ने सम्बन्धमा समन्वयकारी भूमिका निर्वाह नगरी प्रतिपक्षलाई सघाएको आरोप लगाएका हुन् ।

‘प्रदेश सरकारले मन्त्रालय विभाजन गर्यो भनेर, विभिन्न स्तरमा टिक्का टिप्पणी भइरहेको छ भन्ने सुनिन्छ, मन्त्रालय विभाजन गर्नुको कारण जनताप्रति प्रदेश सरकारको उत्तरदायित्व धेरै भएकाले तीव्र गतिमा काम गर्नको लागि हो । त्यसको औचित्य चाँडै पुष्टि हुनेछ ।’ समेत मुख्यमन्त्री पाण्डेले बताए ।