अमेरिकाद्वारा आफ्नो कर्मचारीलाई युक्रेन छाड्न आदेश

Avatar photo
Dhadingpost
सोमवार, माघ १०, २०७८

एजेन्सी । रुसले युक्रेनमाथि हमला गर्ने चिन्ताबीच त्यस क्षेत्रमा तनाव बढिरहेका बेला अमेरिकी विदेश मन्त्रालयले युक्रेनस्थित आफ्नो दूतावासका कर्मचारीका आफन्तलाई उक्त देश छाड्न आदेश दिएको छ ।

रुसले आफूले युक्रेनमाथि हमला गर्ने र उसलाई कब्जा गर्ने दाबीहरूको खण्डन गर्दै आएको छ । अमेरिकी विदेश मन्त्रालयले चाहिँ युक्रेनमा सुरक्षा अवस्था पूर्वानुमान गर्न नसक्ने खालको रहेको र सामान्य सूचनाकै भरमा त्यो एकदमै खतरनाक अवस्थामा पुग्नसक्ने बताएको छ।

अमेरिकाले युक्रेनलाई ९० टन ‘घातक सहायता’ पठाएको छ । यो सहायतामा सीमा क्षेत्रमा तैनाथ सैनिकहरूका लागि हतियारसमेत सामेल रहेको बीबीसीले जनाएको छ ।

अमेरिकी सहयता युक्रेनको राजधानी किभ पुगिसकेको छ । किभस्थित अमेरिकी दूतावासले यो सहयोगले युक्रेनको आत्मरक्षाको सम्प्रभु अधिकारप्रति अमेरिकाको प्रतिबद्धतालाई दर्शाउने भन्दै यस प्रकारका सहयोग आगामी दिनमा पनि जारी रहने जनाएको छ ।