आङ सान सूचीलाई थप चार वर्ष जेल सजाय

Avatar photo
Dhadingpost
सोमवार, पुस २६, २०७८

बीबीसी । म्यान्मारमा एउटा अदालतले पदच्युत नेत्री आङ सान सू चीलाई थप चार वर्ष जेल सजाय सुनाएको छ। सैन्य सरकारले उनीविरुद्ध चलाएका अनेकौँ मुद्दामध्ये सोमवार एउटामा फैसला गरेको हो ।

अदालतले सू चीले अवैध रूपमा वाकी-टकी राखेको र आयात गरेको एवं कोभिड-१९ सम्बन्धी नियम उल्लङ्घन गरेको ठहर गरेको छ । यसअघि सू चीलाई गत डिसेम्बरमा पनि एउटा मुद्दामा दोषी ठहर गर्दै दुई वर्षको सजाय सुनाइएको थियो ।

गत फेब्रुअरी महिनामा सेनाले देशको शासनसत्ता आफ्नो हातमा लिएपछि उनलाई हिरासतमा राखिएको छ । उनीविरुद्ध झन्डै एक दर्जनवटा अभियोग लगाइएको छ । तर सू चीले ती सबैको खण्डन गरेकी छन् । उनीविरुद्ध अन्यायपूर्वक मुद्दा चलाइएको भन्दै सर्वत्र निन्दा गरिएको छ ।

सैन्य कू भएको दिन सैनिकहरूले उनको घर खानतलासी गर्दा फेला पारेका सञ्चार उपकरणका आधारमा उनलाई यो मुद्दा चलाइएको विश्वास गरिएको छ । राजधानीमा गरिएको सुनुवाइमा सञ्चारमाध्यमलाई जान अनुमति दिइएको थिएन। सू चीका वकिलहरूलाई सञ्चारमाध्यम तथा सर्वसाधारणसँग सम्पर्क गर्न दिइएको छैन ।

मानवाधिकारको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था ह्यूमन राइट्स वाचले सू चीविरुद्ध चलाइएको मुद्दालाई “मिथ्या आरोपमा अदालती चटकको गोप्य कारबाही” को सङ्ज्ञा दिँदै सू चीलाई जेलमा राखिराख्न खोजिएको दाबी गरेको छ ।

ह्यूमन राइट्स वाचले सू चीलाई सेनाले “गैरकानुनी कचहरीबाट झिनो र राजनीतिक रूपमा उत्प्रेरित अभियोगमा दोषी ठहर गर्न खोजेको” आरोप लगाएको छ । सन् २०२० को नोभेम्बरमा सम्पन्न निर्वाचनमा सू चीको न्याश्नल लीग फोर डिमोक्रेसी (एनएलडी) ले बहुमत पाएको केही महिनापछि सेनाले निर्वाचित सरकारलाई सत्ताच्युत गर्दै शासन आफ्नो हातमा लिएको थियो ।