
बाँके । कोठा न्यानो बनाउन बालेको आगोको धुवाँले निसास्सिएर एकै परिवारका नाबालकसहित चारजनाको मृत्यु भएको छ । तीनजना सिकिस्त भएका छन् ।
कर्णाली प्रदेश खरिद तथा आपूर्ति शाखा (मेडिकल स्टोर) नेपालगन्जको क्वार्टरमा न्यानो बनाउन बालेको आगोको धुवाँले निसास्सिएर शाखाका कार्यालय सहयोगी २३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीनमहिने छोरा इप्सन, ४५ वर्षीया आमा कोपिला र २५ वर्षीया दिदी नन्दकलीको मृत्यु भएको बाँके प्रहरीले जनाएको छ ।
एउटै कोठामा सुतेका धनप्रसादका तीन वर्षका छोरा दिवस, २३ वर्षीया पत्नी सुशीला र २१ वर्षीय भाइ नरेन्द्र सिकिस्त छन् । उनीहरूको भेरी अस्पतालमा उपचार भइरहेको छ । टिनको बाकसमा बालेको कोइला ननिभाई सुत्दा निसास्सिएर अप्रिय घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।
‘घटनास्थलमा टिनको बाकसमा कोइला थियो । झ्याल, ढोका बन्द थियो । घटनाको प्रकृति र कोठाको अवस्था हेर्दा अक्सिजन कम भई निसास्सिएर मृत्यु भएको देखिन्छ,’ बाँके प्रहरीका एसपी श्यामकृष्ण अधिकारीले भने, ‘सानो बच्चा भएकाले कोठा न्यानो बनाउन आगो बालेको देखिन्छ ।’ नयाँ पत्रिकामा खवर प्रकाशित छ ।