धादिङका मुकुन्द सेढाईलाई सेनाले वेपत्ता बनाएको आज १८ वर्ष पुग्यो

Avatar photo
Dhadingpost
आइतवार, पुस ४, २०७८

धादिङ । धुनीबेसी नगरपालिका स्थित जीवनपुरका मुकुन्द सेढाई उखु बेच्न काठमाडौं गएको वखत तात्कालिन शाही सेनाले माओवादी कार्यकर्ताको आरोपमा गिरफ्तार गरि वेपत्ता बनाएको आज १८ वर्ष पुगेको छ । आज भन्दा ठिक १८ वर्ष पहिला आजैको दिन अर्थात् २०६० साल पुस ४ गते बेलुका ४ बजे आफ्नो बारीमा लगाएको उखु लिएर बेच्न जाँदा काठमाडौंको भिमसेन स्थानबाट माओवादीको आरोपमा सेनाले गिरफ्तार गरी बेपत्ता बनाएको थियो ।

तात्कालिन नेकपा माओवादी माओवादीले संचालन गरेको जनयुद्धको क्रममा माओवादी कार्यकर्ता भएको आरोपमा बेपत्ता पारिएका मुकुन्द सेढाई लगायत धुनीबेसीबाट १० जनालाई तात्कालिन राज्यपक्षबाट हाल सम्म पनि बेपत्ता पारिएको छ ।

धुनीबेसी नगरपालिकाका वैकुण्ठ रेग्मी, राजकुमार वास्कोटा, उमा नेपाल, सरला सापकोटा र संगिता ठकुरी गरी ६ जना माओवादी भएकै कारण राज्यपक्षले हत्या गरेको थियो । भने हरी आचार्य, हरी लुइटेल, नानिराम काफ्ले, विदुर रेग्मी, शिव सापकोटा, केदार कुँवर, राजकुमार मानन्धर, वैकुण्ठ भुजेल, दिवाकर लुईटेल, मुकुन्द सेढाई गरी १० जनालाई आज सम्म पनि वेपत्ता बनाएको छ ।

दश वर्ष सम्म चलेको माओवादी जनयुद्ध र त्यस पछिको जनआन्दोलनले मुलुकमा आमुल परिवर्तन आएको भनिएको छ । त्यहि उपलब्धीका लागि लाग्ने वा लागेको आरोपमा १८ वर्ष देखि वेपत्ता पारिएका व्यक्तिहरुको अवस्था बारे अझ पनि सार्वजनिक गरिएको छैन ।

नेपालमा सन् १९९६ देखि २००६ सम्म भएको दशक लामो जनयुद्धको क्रममा सुरक्षाफौज र नेपाल कम्युनिस्ट पार्टी माओवादी तर्फबाट ९ सय हाराहारी मानिसहरु अझै पनि बेपत्ता नै छन् । राज्यपक्षबाट ८ सय २४ र नेपाल कम्युनिस्ट पार्टी(माओवादी) बाट १ सय ८ जना गरी ९ सय ३२ जनालाई बलपूर्वक बेपत्ता पारिएकोमा उनीहरुको अवस्था हालसम्म अज्ञात नै छ । यस मध्य धादिङ जिल्लाबाट २६ जना अहिले पनि वेपत्ता छन् ।