नीलकण्ठको गैरिगाउँ र पहरेछापमा चौपायलाई एन्टिरेविज भ्याक्सिन दिईयो

Avatar photo
Dhadingpost
बिहिबार, मंसिर २३, २०७८

धादिङ मंसिर २३ । धादिङको नीलकण्ठ नगरपालिका वडा नं ५ स्थित गैरिगाउ र पहरेछापगाउँमा फैलिएको रेविज रोगको रोकथामको लागि एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन गरिएको छ ।

करिव २ साता अघि भुस्याहा सामुदायिक कुकुरले गाउँमा केही पशुहरुलाई टोकेको र २-३ दिनको अन्तरमा ३ वटा ठुला पशु मरेको पाईएपछि नीलकण्ठ नगरपालिका पशुपन्क्षी बिकास शाखाले उक्त गाउँमा एन्टिरेविज भ्याक्सिन कार्यक्रम संचालन गरेको हो ।

गैरिगाउ र पहरेछापका कृषकहरुको करीब १३० साना तथा ठुलो पशुचौपायहरुमा भ्याक्सिन लगाइएको छ भने पशु मृत्यु भएका घरको कृषकहरुको लागि तुरन्त एन्टिरेविज खोप लगाउन समेत सल्लाह दिइएको छ ।

गत आ। ब। मा पनि सुनौलाबजार आसपासका केही ठाउँमा पशुहरुमा रेविजको फिलिएको र १ जना मानिसको समेत ज्यान गएको थियो उक्त समयमा पनि नीलकण्ठ नगरपालिकाले प्राविधिक पठाइ भ्याक्सिनेशन कार्यक्रम ३ दिन संचालन गरेको थियो ।

आकस्मिक रोगहरुको ब्यावस्थापन को लागि खोप खरिद तथा ब्यवस्थापन शिर्षकमा यस बर्ष पनि नगरपालिकाले ६ लाख बजेट बिनियोजन गरेको छ ।