
धादिङ मंसिर २० । माओवादी केन्द्रका नेता तथा नेपाल सरकारका अर्थ मन्त्री जनार्दन शर्मा प्रभाकरले धादिङको त्रिपुरासुन्दरी माईको मेलामा पुगेर नेपाललाई समृद्ध बनाएरै छाड्ने उद्घोष गरेका छन् ।
ऐतिहासिक त्रिपुरासुन्दरी मेलाको अवसरमा भएको वृहत साँस्कृतिक कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मन्त्री शर्माले नेकपा माओवादी केन्द्रका अध्यक्ष नेपाली राजनितिका नायक प्रचण्ड नेतृत्वको माओवादी केन्द्रको अहिलेको मुख्य एजेण्डा सामान्य जनताले बुझ्ने भाषामा भन्नु पर्दा नेपाललाई छिटो भन्दा छिटो समृद्ध बनाउने रहेको बताए ।
उक्त कार्यक्रममा माओवादी केन्द्रका नेताहरु पुष्प विक्रम मल्ल, वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेल, सह ईन्चार्ज रामबहादुर भण्डारी, प्रदेश सांसद जगत सिंखडा, अध्यक्ष विजय वुर्लाकोटी अन्य दलका प्रतिनीधिहरुको आतिथ्यता रहेको थियो ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस मन्दिरको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।
प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ वटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याइन्छ । रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ ।
अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैलाई पनि छुन नदिई हजारौं भत्तजनहरुको उपस्थितिमा आज कोटबाट बेसी भित्र्याईएको छ । यहि मेला अवलोकनको लागि मन्त्री प्रभाकर मेला स्थल आएका हुन् ।