
धादिङ कार्तिक ९ । धादिङ त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा रहेको सांग्रिला डेभलपमेन्ट बैँक शाखाले वित्तिय साक्षरता अभियानलाई तीब्रता दिएको जनाएको छ । बैंकले आफ्नो वार्षिक उत्सवको अवसरमा विभिन्न वित्तिय कार्यक्रमसहित गाउँ टोलमा पुगेर साँग्रिला बैंकमा खाता खोल्ने अभियान अन्तरगत मंगलवार ठुलोगाउ पुगेर बैकिङ कारोबारबारे स्थानीयहरुलाई जानकारी गराईएको शाखा प्रमुख सुर्य प्रसाद बगालेले बताए ।
उक्त कार्यक्रममा स्थानीय बुद्धिजीवि, युवा, महिलाहरु बैंकमा बचत किन गर्ने, कसरी गर्ने, खाता कसरी खोल्ने, चेक कसरी काट्ने, पैसा जम्मा कसरी गर्ने लगायतका विविध विषयजानकारी गराईएको शाखा प्रमुख बगालेले जानकारी दिए । जनतालाई बचत गर्ने बानी बसाउने उद्देश्यले बैँकको विभिन्न शाखाहरुमार्फत् यो अभियान सञ्चालन गरिरहेको शाखा प्रमुख बगाले ले बताए । वित्तिय सेवाका माध्यमबाट सामाजिक उत्तरदायित्य बहन गर्दै आएको सांग्रिला डेभलपमेन्ट बैँकले वित्तिय साक्षरतासंगै खाता खोल्ने घर दैलो अभियानलाई निरन्तरता दिने बगालेले बताए । उनले भने पैसाको सहि परिचालन र बचतका लागि सवैभन्दा पहिला वित्तिय साक्षरता आवश्यक छ,यस विषयमा गाउँ गाउँका अधिकाँश जनताहरु अनविज्ञ हुनुहुन्छ, हामीले दुरदराजका गाउँबस्तीहरुलाई प्राथमिकता दिएर वित्तिय साक्षरता अभियान चलाइरहेको छौँ ।’ उनका अनुसार कार्यक्रमको अवसरमा स्थानीयहरुको बैँकमा खाता खोल्ने कार्य समेत भएको थियो ।
बैँकले यसअघि पनि वडाका विभिन्न टोलहरुमा बैकिङ सेवा सम्बन्धि जानकारी गराएको थियो । गाउँगाउँमा पुगेर को क्रममा बैंकले देशभर छरिएर रहेका ९८ शाखामार्फत छिटो, छरितो, सरल तवरले न्युनतम ब्याजदरमा कर्जा सुविधा,बचततर्फ आकर्षक ब्याज,रेमिट्यान्स सुविधा, मोबाईल बैंकिङ, एटीएम, आस्वा लगायतका सेवा दिँदै आएको छ । बैँकले दशैँ तिहारको अबसर पारी मुद्धती खातामा तीन महिना, छ महिना र एक बर्ष मध्ये जुनसुकै समय अवधिमा राखे पनि ९.५० प्रतिशत व्याज दिदै आएको छ ।








































