नेपाल र बंगलादेश बीचको खेल आज दिनको ४ः४५ बजे

Avatar photo
Dhadingpost
बुधबार, अशोज २७, २०७८

धादिङ असोज २७ गते । साफ च्याम्पियनसिप फुटबल अन्तर्गत राउण्ड रोबिन लिगको अन्तिम खेलमा नेपालले आज बुधबार बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्दैछ । दिनको ४ः४५ बजे हुने उक्त प्रतियोगिता माल्दिभ्सको मालेस्थित राष्ट्रिय रंगशालामा हुनेछ । आजको खेलमा बंगलादेशविरुद्ध बराबरी वा जितको नतिजाले नेपाल पहिलो पटक साफको फाइनल पुग्नेछ । साफमा सेमिफाइनलसम्मको यात्रा नेपालको ठूलो उपलब्धि हो ।

नेपालले पहिलो खेलमा माल्दिभ्सलाई १–० र अर्को खेलमा श्रीलंकालाई ३–२ ले हराउँदै दमदार सुरुवात गरेको थियो । झण्डै तीन दशक लामो च्याम्पियनसिपमा नेपालले सुरुवाती दुई खेल यसै पटक जितेको हो । नेपालसँग पहिलो खेल गुमाएपनि माल्दिभ्सले बंगलादेश र श्रीलंकालाई हराउँदै फाइनलको सम्भावनालाई जीवित राखेको छ ।

पहिलो खेलमा बंगलादेशसँग १–१ को बराबरीमा रोकिएको भारतले अर्को खेलमा श्रीलंकासँग गोलरहित बराबरी खेलेको थियो । तेस्रो खेलमा नेपाललाई १–० ले हराउँदै भारत च्याम्पियनसिपको उपाधि दौडमा फर्केको थियो । यसपटक ८ खेलमा १३ गोल भएका छन् । नेपालका लागि अलग अलग ४ खेलाडीले गोल गरेका थिए ।

जारी साफ च्याम्पियनसिपमा भारतमात्र एक मात्र अपराजित टोली रहेको छ । फाइनल दौडमा रहेका ४ टोलीमध्ये नेपाल मात्र अहिले सम्म च्याम्पियन बन्न सकेको छैन । सर्वाधिक सफल टोली भारतले ७ पटक साफ च्याम्पियनसिप जित्दा माल्दिभ्सले २ पटक र बंगलादेशले १ उपाधि उपाधि उचालेका छन् । नेपाल भने अहिले सम्म फाइनल पुग्न सकेको छैन । अघिल्ला १२ संस्करणमा ५ पटक सेमिफाइनलमा पुग्नु नै नेपालको सफल नजिता हो ।