
धादिङ असोज २५ । नेपाली कांग्रेस त्रिपुरासुन्दरी गाउँपालिका ६ ले विजया दशमी, शुभ दिपावली, नेपाल सम्वत् र छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान एवम् चियापान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा नेपाली कांग्रेस धादिङका नेता तथा नीलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढुङ्गानको प्रमुख आतिथ्यता तथा नेताहरु तिलक रुवाली, हरिराम बुर्लाकोटी, त्रिपुरा सुन्दरीका स्थानीय नेताहरुको आतिथ्याता रहेको थियो ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै आशन्न जिल्ला अधिवेशनका सभापति पदका उम्मेदवारी घोषणा गरेका प्रमुख अतिथि ढुङ्गानाले अहिलेको कांग्रेस नेतृत्वको गठबन्धन सरकारको विरुद्ध अभिव्यक्ति नदिन आग्रह गरे । अहिलेको सरकार ओली प्रतिगमनको उपज भएको भन्दै गठबन्धनको समेत मन जितेर अगाडी बड्नु पर्ने अवस्था रहेको हुँदा कांग्रेसको घोषणा पत्र पूर्ण रुपामा कार्यान्वयन हुन नसके पनि सरकारको आलोचना गर्न नहुने उनले बताए ।



































