एजेन्सी भदौ २५ । नेपाली राष्ट्रिय क्रिकेट टोलीले शुक्रबार पपुवा न्युगिनीसँग दोस्रो ओडिआई खेल्दा पहिलो पटक डे नाइट (दिन र रातमा) ओडिआई खेल खेल्दै हुनेछ । ओमानमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज शुक्रबार पपुवा न्युगिनी (पीएनजी) सँग दोस्रो एकदिवसीय अन्तराष्ट्रिय खेल खेल्न लागेको हो ।
पीएनजीसँगको दुई खेलको सिरिज अन्तर्गत नेपालले आज दोस्रो खेल ओमानको अल अमिरात क्रिकेट मैदानमा हुनेछ । डे नाइट (दिन र रातमा) अन्तर्गतको खेल नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।
नेपालले पहिलो ओडिआई खेलमा पिएनजीलाई दुई विकेटले पराजित गरेको थियो । जितको लागि १ सय ३५ रनको सामान्य विजयी लक्ष्य पछ्याउने क्रममा नेपालले ८ विकेट गुमाउँदै संघर्षपूर्ण जित निकालेको थियो । जसक्रममा रोहित कुमार पौडेलले ४१ रनको महत्वपूर्ण योगदान दिएका थिए ।
नेपाल आज दोस्रो खेल जित्दै सिरिज आफ्नो बनाउने योजनामा हुनेछ । पीएनजी पनि नेपाललाई हराएर सिरिज बराबरी गर्न चाहन्छ । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिज अघि नेपालले पीएनजीसँग सिरिज खेलिरहेको हो ।
लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजमा नेपालले पहिलो खेल अमेरिकासँग सेप्टेम्बर १३ (भदौ २८ ) गते प्रतिस्पर्धा गर्नेछ । नेपालले दोस्रो खेलमा ओमानसँग सेप्टेम्बर १४ (भदौ २९) गते प्रतिस्पर्धा गर्नेछ । नेपालले तेस्रो खेलमा अमेरिकासँग सेप्टेम्बर १७ (असोज १) गते प्रतिस्पर्धा गर्नेछ । यस्तै नेपालले आफ्नो अन्तिम खेलमा ओमानसँग सेप्टेम्बर १९ (असोज ३) गते खेल्नेछ ।
यस अघि लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग ४ खेल खेलिसकेको छ । जसमा नेपालले अमेरिकालाई दुई खेलमा हराएको थियो भने ओमानसँग दुबै खेलमा पराजित भएको थियो । लिगमा नेपालले ४ खेलमा ४ अंक जोडेको छ । नेपाल छैटौं स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । १२ खेलमा १२ अंक जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।