नेपालले आज बिहान ११:१५ बजे पिएनजी खेल्दै

Avatar photo
Dhadingpost
मङ्लबार, भदौ २२, २०७८

एजेन्सी भदौ २२ । नेपाल र पिएनजीबीचको पहिलो खेल आज ओमानको अल अमरेत क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान ११ः१५ बजे सुरु हुँदैछ । नेपालले आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि पपुवा न्युगिनी (पिएनजी) सँग दुई ओडिआई खेल्न लागे अनुरुप आज पहिलो खेल हुन लागेको हो । नेपालको ज्ञानेन्द्र मल्ल र पिएनजीको असाद भालाले कप्तानी गर्ने छन् ।

विश्वकप लिग–२ मा ८ खेल खेलेको पिएनजीले जितको खाता खोल्न सकेको छैन । नेपालले ४ खेलमा २ मा जित र २ मा हा बेहोरेको छ । पिएनजी र नेपालबीचको दोस्रो खेल भदौ २५ मा हुने छ । पिएनजीका प्रमुख पाँच खेलाडी जो नेपाललाई घातक बन्न सक्छन् । पिएनजी आइसीसी विश्वकप लिग–२ अन्तर्गत ओमान र स्कटल्यान्डसँग त्रिकोणात्मक ओडिआई सिरिज र टि-२० विश्वकपको लागि ओमानमा आएको छ । नेपाललाई दुवै खेलमा पराजित गर्दै उच्च मनोबलका साथ त्रिकोणात्मक सिरिज खेल्न चाहन्छ । पहिलो पटक टि२० विश्वकप खेल्न लागेको पिएनजीको मनोबल उच्च छ ।

नेपाल र पिएनजीले पहिलो पटक ओडिआई खेलमा प्रतिस्पर्धा गर्दै छन् । पछिल्लो पटक नेपाल र पिएनजीले २०१८ को एकदिवसिय विश्वकप छनोट अन्तर्गत प्लेअफमा जिम्बावेमा प्रतिस्पर्धा गरेका थिए । नेपालले पिएनजीलाई ६ विकेटले हराउँदै ऐतिहासिक ओडिआई मान्यता प्राप्त गरेको थियो । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेपाल २०१५ मा पिएनजीसँग दुबै खेलमा पराजित भएको थियो ।

नेपाल पहिलो ओडिआई खेलमा पिएनजीलाई पराजित गर्दै ओमान भ्रमणमा सानदार सुरुवात गर्न चाहन्छ । नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग त्रिकोणात्मक ओडिआई सिरिज खेल्नुअघि तयारी स्वरुप पिएनजीसँग दुई ओडिआई खेल खेल्न लागेको हो । पिएनजीसँग दुई ओडिआई खेलपछि नेपालको सम्पूर्ण तयारी पूरा हुने छ । नतिजाले वरीयता बाहेक अन्यमा खासै फरक नपर्ने हुँदा टोलीमा कुनै दबाब छैन । यो खेल कमजोरी पहिचान र सुधार गर्ने राम्रो अवसर हुने छ ।

नेपालले १९ महिनापछि ओडिआई खेल खेल्न लागेको हो । पिएनजी सोमबार अमेरिकासँग ७ विकेटले पराजित भएको थियो । पछिल्लो पटक नेपालले ओडिआई २०२० फेब्रुअरीमा नेपालले आइसिसी विश्वकप लिग–२ अन्तर्गत अमेरिकासँग टियु मैदानमा खेलेको थियो । त्यसपछि नेपालले पहिलो पटक ओडिआई खेल खेल्न लागेको हो । वैशाखमा नेपालले मलेसिया र नेदरल्यान्ड्सँग टि२० आई त्रिकोणात्मक सिरिजमा सानदार ब्याटिङ गर्दै उपाधि जितेको थियो । सुरुवात दुई खेलमा सहज जित निकालेको नेपालले अन्तिम तीन खेलमा लगातार २ सय माथिको योगफल कटाएको थियो । फाईल फोटो