धादिङ अस्पतालद्वारा दिपक कोईराला विरुद्ध विज्ञप्ती जारी, के थियो ? टिकटक भिडियोमा

Avatar photo
Dhadingpost
बिहिबार, भदौ १७, २०७८

धादिङ भाद्र १७ । धादिङबेसी स्थित सदरमुकाममा रहेको जिल्ला अस्पताल धादिङले नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईराला विरुद्ध विज्ञप्ती जारी गर्दै टिकटक भिडियोमा कोईरालाले बोलेको कुरा अनर्गल र भ्रामक रहेको बताएको छ ।

अस्पतालमा ड्युटीमा रहेका स्वास्थ्यकर्मी माथि हात पात हुँदा समेत विज्ञप्ती जारी नगर्ने धादिङ अस्पताल प्रशासनले दिपक कोईरालाले बोलेको कुरालाई भिडियोमा कसैले कैदगरि टिकटक बनाएपछि अस्पतालले किन विज्ञप्ती नै जारी गरेर कोईरालाको भनाई अनर्गल र भ्रामक बतायो ? विज्ञप्ती नै जारी गर्नु पर्ने गरि दिपक कोईरालाले के बोलेका थिए त ।

भाद्र १४ बिहान ज्वालामुखी गाउँपालिकाबाट धादिङबेसी आउँदै गरेको आईचर ट्रक धादिङबेसी नजिकै बगैचामा दुर्घटना हुँदा ३५ जना गम्भिर घाईते भए जसमा केहि गम्भीर घाईते बनेका थिए । घाईते उद्द्धारमा देखिएका कांग्रेस धादिङका युवा नेता समेत रहेका दिपक कोईरालाले अस्पतालमा आएपछि अस्पताल व्यवस्थापन समितिका अध्यक्षलाई फोन गरेका थिए । यहि फोन सम्वाद कसैले खिचेर टिकटक पोष्ट गरेपछि अस्पतालले कोईराला विरुद्ध बुधबार विज्ञप्ती जारी गरेको थियो ।

फोनमा दिपक कोईरालाले के बोलेका थिए,
टिकटक भिडियोमा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बोलेको नसुनिय पनि दिपक कोईरालाले बोलेको प्रष्ट सुनिन्छ । कोईरालाले भनेका छन् विदै भएपनि इमर्जेन्सी भनेको के हो अध्यक्ष ज्यू ?
विदा भनेर हुन्छ ? विदामा एक्सिडेन्ट हुदैन अध्यक्ष ज्यू ?
विदा भनेर हुन्छ ? तपाईले के पूर्वतयारी गरेर । जानु भाछ ?
हस्पिटलमा एक जना डाक्टर छैन यार, तपाई आउनु पर्यो ।
३९ सेकेण्डको उक्त भिडियोमा भिडियो खिच्ने व्यक्तिले पनि कृष्ण अस्टमी सार्वजनिक विदा भनेर चिकित्कस नआएको र घाईतेहरुको उपचारमा कठिनाई भए सँगै स्थानीयहरु आक्रोसित भनेर आफ्नो आवाज दिएका छन् ।

यहि विषयलाई लिएर बुधबार जिल्ला अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट त्रिभुवन झाले २ पृष्ठ लामो विज्ञप्ती जारी गर्दै दिपक कोईरालाले भ्रामक प्रचार गरेको बताएका हुन् । नीलकण्ठ नगरपालिकाका सल्लाहकार दिपक कोईरालाले धादिङपोष्ट सँग भने आफुले तेस्तो नराम्रो केहि नबोलेको घाईतेहरु उपचारका लागि अस्पताल ल्याउँदा डाक्टरहरु नदेखेपछि अस्पतालको अध्यलाई फोन गरेको हुँ । त्यो बेला अस्पतालमा भिड थियो घाईतेको उपचारमा ढिला भएपछि स्थानीयहरु आक्रोसित थिए । मैले अध्यक्ष ज्यूलाई फोन गरेको कुरा कल्ले भिडियो बनाएर टिकटकमा राखे त्यो पनि थाहा छैन तर फोनमा मैले नराम्रो नबोलेको दावी गरेका छन् ।