अफगानिस्तान बम विस्फोटमा परी मृत्यु हुनेको संख्या १०३ पुग्यो

Avatar photo
Dhadingpost
शुक्रबार, भदौ ११, २०७८

एजेन्सी भाद्र ११ । अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलको बाहिर भएको बम विस्फोटमा परेर मृत्यु हुनेको संख्या कम्तीमा १०३ पुगेको छ । बिहीबार आक्रमणकारीहरुले विमानस्थल छिर्ने मूल द्वारको बाहिरपट्टि विस्फोट गराएका थिए । काबुल तालिबानीहरुले कब्जामा लिएपछि आफ्नो देश फर्किनका लागि विमानस्थलमा जम्मा भएका हजारौँको भीडलाई लक्षित गरेर उनीहरुले विस्फोट गराएका थिए ।

सो आक्रमणमा परेर मृत्यु भएकामध्ये १३ जना अमेरिकी सेना रहेका छन् । अफगानिस्तानमा रहेको अमेरिकी सैन्य समूहका प्रमुख कमान्डरले आफ्ना १३ सेनाको पनि मृत्यु भएको पुष्टि गर्नुभएको छ । उहाँले सो आक्रमणमा मारिएका १३ जना अमेरिकी सैन्य सेवाका सदस्य रहेको बताए ।

उक्त आक्रमणमा परी बिहीबार रातिसम्म कम्तीमा पनि १०३ जनाको ज्यान गएको छ । त्यसमा परेर करिब एक सयजना घाइते भएका छन् । घाइते हुनेमा अरू १८ जना अमेरिकी सेना पनि रहेका छन् । अमेरिका र उसको नेटो गठबन्धनका सदस्य राष्ट्रले अगस्ट ३१ भित्र आफ्ना नागरिक तथा आफ्नो देश फर्किन विमानस्थलमा बसेका अरू देशका मानिसको उद्धार सम्पन्न गरिसक्ने जनाएका छन् ।

उता तालिबानले भने विमानस्थल पुग्ने सबै बाटो बन्द गरिसकेको छ । उनीहरुले पनि सो विमानस्थलमा सुरक्षा दिइरहेका बताइएको छ । अमेरिकी राष्ट्रपति जोन बाइडेनले पनि अफगानिस्तानकै स्थानीय इस्लामिक स्टेट्सका कारण उक्त विमानस्थलमा सुरक्षा खतरा रहेको बताएका थिए । बिहीबार भएको सो आक्रमणको जिम्मेवारी आइएसले लिएको छ । उनीहरुले अफगानिस्तानमा अमेरिकी सेनाले गरेको कामका लागि सो विस्फोट गराएको बताएका छन् ।