
खै कहाँ बाट लेख्न शुरु गरु र कहाँ अन्त्य गरु यो पहिलो पत्रलाई। म अहिले ४१ बर्षको हुदा लगभग २५ बर्ष बितिसके छ तपाईसङ र तपाइले लिएको बिचारसंग पृत र मीत लगाउदै वर्गिय साइनो जोडिएको ।
यो २५ वर्षको लामो अवधिमा मैले के दिए के लिए अनि के पाँए के गुमाए, त्यसको लेखाजोखा त गरेको छैन तर मेरो भावनात्मक लगानीबाट हिउँ भन्दा चिसो, आगो भन्दा तातो, रगत भन्दा रातो र सगरमाथा भन्दा अग्लो कुनै नाता बन्ने र पुग्ने ठाउँ भए बनिसकेको र पुगिसकेको हुन्थ्यो होला कमरेड ।
यसको मतलब कमरेड,
कयौं जितमा म हासेको छु र हारहरुमा रोएको छु। तपाईसङै रुदारुदै हासेको छु र हास्दाहास्दै रोएको छु। कालकोठरीमा २४ महिना छट्पटाहट्मा बिताएको छु । कालकोठरीका दिनहरु कहिले उल्लासमा त कहिले त्रासमा बिताएको छु कमरेड ।
हुनत म हाम्रा कमरेडहरुले भने जस्तो कार्यकर्ता त हैनस यो भन्ने अधिकार राख्छु कि राख्दिन थाहा छैन, तर तपाईको योजनामा मैले आफुलाई महासमरको यात्री बन्नबाट कहिल्यै टाढा राखेको छैन । त्यसैले त निरन्तर निरन्तर साथ साथमै छु, र रहने प्रतिबद्धता गरेको छु ।
कमरेड,
यो भन्दै र लेख्दै गर्दा, म संझन्छु तपाईंसंगका ती कमरेडहरु, कोहि लडिरहेका छन, कोहि सहिद भए, कोहि गद्द्दार भए, कोहि रोडमा छन् त कोही महलमा छन् । समयसङै, परिवर्तनसङै धेरैमा धेरै थरि परिवर्तनहरु देखे । शायद प्रकृतिको नियम नै भएर होला यसमा मलाई कुनै गुनासो र दुखेसो छैन र गर्दिन पनि ।
तर कमरेड, तपाईं जस्तै म पनि अलि बढी भावनामा बहने गर्छु । मलाई सम्भ्रान्त सामान्तहरुको सुखी जीवनमा आखा पर्दैन, डाहा लाग्दैन, तर जव दुःखी मजदुरहरु र गरिब किसानहरु देख्छु तव मलाई दुःखले छुन्छ र मेरो आँखा रसाउछ ।
तपाईले त धन्न थाम्नु भएको छ । जनयुद्ध हाक्दै गर्दा विस्तारवादी र साम्राज्यवादीहरुले आतंककारी भन्दै कत्लेआम गर्न खोज्दा पनि हार्नु भएन । जितेरै छाड्नु भो । आफ्नो एजेन्डा स्थापित गरेरै चाड्नु भो । अझै देशीविदेशी प्रतिक्रियावादीहरुले सिध्याउन खोजिरहेकै छन् । येस्तो बेला उता जिवनसंगिनी कमरेड सीताको अवस्था त्यस्तो छ, छोरी र छोरा गुमाइसकेका छन् । त्यो भन्दा ठुलो बज्रपात के नै हुन्छ र जीवनमा तै पनि तपाई अलिकति पनि बिचलित नभई लडिनरहनु भएको छ ।
त्यसैले त तपाई जन नायक प्रचण्ड हुनु भएको छ । नेपाली क्रान्तिका नायक हुन भएको छ आशाको केन्द्रबिन्दु हुनु भएको छ । तर कमरेड, धेरैले धेरै फाइदा उठायो तपाईंको महानता र सोझोपनाको । माग्नेलाई दिदा दिदा आफू रित्तिदै जानुभएको छ । आफ्नो दरो खुट्टा हुँदाहुदै परालको खुट्टामा उभिन खोज्दा धेरै चोटि लड्नुभएको छ । धेरै खरानी घस्नेलाइ विश्वास गर्दा अनगिन्ती धोकाहरु पाउनु भएको छ ।
माथि मात्रै हैन कमरेड। यहाँ तल सम्मै त्यस्तै छ । त्यस्तै सुनिन्छ, भनिन्छ र देखिन्छ । तपाई त माथीकै लडाइँमा ब्यस्त हुनुहुन्छ । तलको विचित्र कहिले देख्ने र कहिले सुन्ने कमरेड ? सबै त त्यस्ता छैनन कमरेड, तर धेरै जसोमा कसैले कसैलाई चिन्दैन, गन्दैन र मान्दैन । सल्लाह लिदैन, सल्लाह दियो, राम्रो कुरा गर्यो भने गुट बनाउन खोज्यो भनेर छिर्किनी लाउछन, लडाउछन र बाटो छेक्छन । प्रगतिमा डाहा ईष्र्याको त के कुरा गर्नु र ? यहाँ येस्तै त्यस्तै छ । यसरी पार्टी बन्ला रअध्यक्ष कमरेड ?
हिजोआज तपाईंले कमान्ड गर्नुभएको पार्टीमा सामन्तवादका ठेकदारको प्रवेश हुँदा फुलमाला र अबिर जात्राका साथ स्थान मिल्नेछ । म जस्तै एउटा समाजोजन मा गएर आएका क्रान्तिकारी योद्धालाई तपाईंको मिसन पुरागरि पुनः पार्टी काममा फर्कन खोज्दा किन ? विभेद हुन्छ ।
मलाई त केही छैन कमरेड, सान को जिवन नभए नि खोस्रदा खाना पुग्ने खोरिया छ । त्यसैले कर्तव्यनिस्ठ नै छु जस्तो लाग्छ । डर पटक्कै छैन, रत्तिभर । सांसद, मन्त्री भएर ठुलो नेता बन्ने धोको छैन मेरो । मृत्यु पश्चात् एउटा झण्डाको शासमा सकेको सेवा गरिनैराको छु । गरिबका कलिला बालबालिकाहरुको भविस्यप्रती चिन्तित छु । त्यसैले त लेख्छु, बोल्छु र लड्छु अन्याय र अत्याचारको विरुद्धमा । एकमुठी सास रहेसम्म लेखिनै रहने छु, बोलिनै रहने छु र लडिनै रहने छु ।
कमरेड, असत्यको जित र सत्यको हार कहाँ पो भएको छर यहाँ । हामीले कहिले पो हारेका छौ र । मात्रै चिन्ता प्रवृत्तिको हो, संस्कारको हो कमरेड । बिचारमा खोट छैन । बाटोको अवरोध त पन्छाउदै अघि बढ्ने हो । ढिला नगरौ कमरेड । जो जहाँ छ, त्यही बसेर निर्मम समिक्षा गरौ, गराऔ र प्रश्न गरौ कमरेड ।
हँसियाबाट छुट्टिएको हथौड़ा, वादबाट छुट्टिएको बिचार, नितीबाट छुट्टिएको नेतृत्व, जनताबाट छुट्टिएको नेता, मुटुबाट छुट्टिएको मनलाई जोड्न ढिला नगरौं । बादल फाटेपनी आकाश खसेको छैन, बेर्ना सुकेपनी बीउ मरेको छैन। सबै सम्भव छ कमरेड । देश र जनताको लागि हामीले जित्नै पर्छ र जित्छौं ।
लेखाईको प्यास अलिकति पनि तृप्त नहुदै अलि लामो भए जस्तो लाग्यो कमरेड । त्यसैले बाकी भेटमा वा अर्को पत्रमा कोर्ने बाचा गर्दै कलम बन्द गर्छु ।, क्रान्तिकारी अभिवादन सहित । उहीँ तपाइको सिपाहि क अग्नी ।