पीएसजीमा मेस्सीलाई ३० नम्बरको जर्सी

Avatar photo
Dhadingpost
बुधबार, साउन २७, २०७८

एजेन्सी साउन २७ । मेस्सीले हाललाई फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग २ वर्षको सम्झौता गरेका छन् । उनीसँग थप एक वर्ष सम्झौता लम्ब्याउने विकल्प पनि छ । पीएसजीले फ्रि एजेन्ट मेस्सीलाई २५ मिलियन युरो हस्ताक्षर गरेवापत र प्रति वर्ष २५ मिलियन युरोमा तलब दिने सर्तमा अनुबन्धन गरेको हो ।

थप एक वर्ष भएमा सोहि रकम हुने उल्लेख छ ‌‌। यसबाहेक टोलीको सफलता र व्यक्तिगत प्रदर्शनअनुसार बोनस पनि रहेको छ । मेस्सीले अब ३० नम्बर जर्सी लगाएर खेल्ने छन् ।

मेस्सी पेरिसमा आउँदा हजारौं समर्थकको भिडले उनलाई नयाँ क्लबमा स्वागत गरेको थियो । त्यसो त अघिल्लो दिन नै मेस्सी आउने प्रतीक्षामा समर्थकले सहरमा भिड जम्मा गरिसकेका थिए । मंगलबार मेस्सीको आगमनसँगै पेरिसको ट्राफिक व्यवस्था मिलाउन नै स्थानीय प्रहरीलाई हम्मे परेको थियो ।

क्लबसँग सम्झौता गरेलगत्तै मेस्सीले पिएसजी आफ्नो लागि उत्तम क्लब रहेको अभिव्यक्ति दिए । ‘म पेरिसमा रहेर आफ्नो करिअरको नयाँ यात्रा सुरु गर्न उत्सुक छु । मलाई थाहा छ यहाँका खेलाडी र स्टाफ कति मिहिनेती छन् भन्ने । क्लब र मेरो लक्ष्य मेल खान्छ र मेरो लागि यो उत्तम गन्तव्य हो । म क्लबसँग अघि बढेर सफलता हासिल गर्न उत्साहित छु,’ उनले भने ।

क्लबका अध्यक्ष नासेर अल खलिफाले मेस्सीलाई अनुबन्ध पाउँदा निकै खुसी रहेको बताए । ‘ म खुसी छु की मेस्सीले पिएसजी आउने निर्णय गरे । उनी हाम्रो परिवारको हिस्सा बन्नु गौरवको कुरा हो,’ उनले थपे,’मेस्सीले शीर्ष श्रेणीको फुटबलमा उपाधि जित्ने लक्ष्य राखेका थिए । यो हाम्रो क्लबको लक्ष्यसँग मेल खाएर नै सहकार्य भएको हो ।’

यससँगै पिएसजीले ट्रान्सफर विन्डोमा चौथो फ्री ट्रान्सफरका रुपमा मेस्सीलाई अनुबन्ध गर्यो । मेस्सीअघि नेदरल्यान्ड्सका कप्तान जिओर्जिनिओ वाइनाल्डम, इटालीका गोलरक्षक जियानलुईजी डोनारुममा र स्पेन तथा रियल म्याड्रिडका कप्तान सर्जियो रामोसलाई अनुबन्ध गरेको थियो । इन्टर मिलानबाट डिफेन्डर अक्रफ हकिमी पनि पिएसजी आएका छन् ।