युरो कपको उपाधि इटालीलाई

Avatar photo
दिपेश कडेल
सोमवार, असार २८, २०७८

एजेन्सी असार २८ । इंग्ल्यान्डलाई पराजित गर्दै इटालीले युरोपेली च्याम्पियनसिप २०२० को उपाधि जितेको छ । टाइब्रेकरमा इंग्ल्यान्डले लगातार ३ प्रहारमा गोल गर्न नसक्दा इटाली ३-२ ले विजयी भएको हो ।

निर्धारित ९० मिनेटको खेल १-१ को बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयमा थप गोल हुन नसक्दा खेल टाइब्रेकरमा लम्बिएको थियो ।

टाइब्रेकरमा पहिलो प्रहार गर्न आएका इटालीका डोमेनिको बेरार्डीले सहजै गोल गरे । इंग्ल्यान्डका कप्तान ह्यारी केनले पनि आफ्नो पेनाल्टीमा कुनै गल्ति गरेनन् । दोस्रो प्रहारमा आन्द्रीए बेलोट्टीको प्रहार पिकफर्डले बचाएपछि इंग्ल्यान्डले अघि बढ्ने अवसर पाएको थियो । ह्यारी मगाएरले शक्तिशाली प्रहार टप कर्नरमा गोल गरेपछि इंग्ल्यान्ड अघि बढेको थियो ।

तेस्रो प्रहारमा इटालीका लिओनार्दो बोनुचीले गोल गरे । लगत्तै मार्कस रासफर्डको प्रहार पोस्टमा लागेर बाहिरिंदा खेल बराबरीमा पुगेको थियो । चौथो प्रहारमा बर्नार्डेसकीले सिधै प्रहारमा गोल गर्दा जेडन सान्चोले पेनाल्टीमा गोल गर्न नसक्दा इटालीले अग्रता लिएको थियो । पाँचौ प्रहारमा जर्जिन्होले गोल गर्न चुकेपनि त्यसपछि बुकायो साकाको प्रहार डोनारुम्माले बचाएपछि इटालीले ३-२ को जित दर्ता गर्दै उपाधि जित्यो ।