‘अन्धविश्वासको फुर्को’

Avatar photo
Dhadingpost
बुधबार, असार १६, २०७८

त्याग र तपस्या मात्र जीवन हो भने
च्यातिदिँदा हुन्छ झुम्रे जिन्दगी
हर पटक आफ्नै आत्मालाई झुक्याउने आशा
विनाअर्थको खोक्रो विश्वासको
थोत्रो झोला
कहिले सम्म हिँड्छौ भिरेर
चिम्लिएर दुवै नेत्र फलाक्दै
तेत्तीसकोटि अमुक्त आत्माहरुलाई
कुन मुद्दाको सुनुवाइ होला भन्ने सोचेका छौ
कुन लोकमा पुग्नु छ र?
न कसैले देखेर आएको
न त भोगेर नै
एउटा अमुक, बेजान
पत्थर जो आफै निर्जीव छ
उसले के दिन्छ भनेर
हात पसारेर
अनुनय विनय गर्दछौ
ओ!
अनिश्चित भविष्यको चिन्तामा
वर्तमानको बलि चढाउनेहरू हो
उठ, ब्यूँझ, जाग
कुम्भकर्ण पनि छ महिनामा ब्यूँझन्छ
तिमीलाई थाहा छ
चेतनशील मन
विवेकशील मस्तिष्क
कृयाशील क्षमता
यी तीनै कुराको
सही सदुपयोग गर्यौ भने
जीवन साच्चिकै
परि कथाको
परिको जस्तो लाग्ने छ
याद राख!
जिन्दगीका हरेक
चुनौतीहरूलाई मात दिनु हो जिन्दगी
न कि
निरीह-लाचार भै
अन्धकारमय
अन्धविश्वासको फुर्को
समातेर मानव जातकै
अपमान गर्नु ……

उषा तिवारी
भरतपुर-३, नारायणगढ,चितवन, नेपाल ।