
हेर्दैछौ कसरी विजोग तिनका हे राजधानी तिमी
बस्दैछौ पसिना चुसी महलमा के लाजधानी तिमी ?
भोकै छन् महिनौ श्रमी सडकमा लिन्नौ र जिम्मा किन ?
भन्छौ छन् सरकार यी उदरका उद्दार भाको दिन ।
हाम्रा छन् सरकार यो विपदमा भन्ने न केही रह्यो
नाम्लो बास बसेसँगै श्रमिकका आशा भरोसा गयो
भारी बोक्न नपाउदा सडकका चुल्हो निभेका क्षण
झन्डा लज्जित भो यहाँ श्रमिकका आँखा भिजेका दिन
जो आए पनि फेरिएन यिनका विश्वाश गुम्दै गए
कोरोना विकराल त्रास भयमा आफै रुमल्ली रहे
दुख्ने त्यो मुटु छैन ती महलमा बस्नेहरूका किन?
खाली पेट लिएर आज जनले भोकै सुतेका दिन
खुल्लाकाश मुनि छ बास मुखमा चारो नपर्नेभयो
फैल्यो भोकमरी यहाँ दिनदिनै झन् त्रास बढ्दै गयो
यो चित्कार न सुन्छ, देख्दछ कबै छन् कान बैरा किन ?
सुत्केरी नवजातका नयनका धारा छुटेका दिन
यो बेला पनि भ्रष्ट भै सदनमा सत्ता पचाए सधैँ
बाडे राहत ,छैन दीनहरुमा आफ्नै बचाए सधैँ
आशा के अब यो रह्यो सकसमा पार्यौ तिमीले किन?
खाली पेट लिएर आज जनले भोकै सुतेका दिन
मात्रै हुन्न थुनेर भित्र घरमा बढ्छन् समस्या अझै
भन्दा रोग कडा छ भोक अहिले खोजौ समाधान क्यै
बोके राहत प्याक आज जसले उद्दारका खातिर
ती संस्था अनि व्यक्तिका कदरमा झुक्छन् सदा यो शिर
मर्नै पर्दछ एक फेर सबले सन्देश केही छर
रित्तै जानु छ लोभ पाप मनको त्यागेर सेवा गर
रोएछन् जन मौन छौ विपदमा हे राष्ट्र सेवी किन ?
झन्डा लज्जित भो यहाँ श्रमिकका आँखा भिजेका दिन ।
सविना रेग्मी, जापान