नेपाल र जोर्डन बीच खेल आज बेलुका हुने

Avatar photo
दिपेश कडेल
सोमवार, जेष्ठ २४, २०७८

धादिङ जेष्ठ २४ । विश्व कप छनोट खेल अन्तरगत आज नेपालले जोर्डनको सामना गर्दैछ । छनोटका अन्तिम ३ खेलका लागि कुवेत पुगेको नेपालले चाइनिज ताइपेलाई २–० ले हराई सकेको छ ।

आज हुने जोर्डन विरुद्धको खेलमा पनि नेपाली खेलाडीहर जित्ने लक्ष्यका साथ मैदानमा उत्रने नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बताएका छन् । नेपाल र जोर्डनबीच आज हुने खेल चौथो हो । यसअघिका ३ खेलमा नेपालले जोर्डन हराउन सकेको छैन ।

यस्तो थियो जोर्डन सँगको विगतको खेल

  • २३ जुलाई २०११ -हार ०-९ – विश्वकप छनोट
  • २८ जुलाई २०११-बराबरी १-१ विश्व कप छनोट
  • १५ अक्टुबर २०१९ -हार ०-३ विश्व कप छनोट

विगतमा नेपाली टोलीले जोर्डन सँग खेलेको खेल प्रदर्शन भन्दा अहिले नेपाली खेलाडीको खेल धेरै सुधारिएको अवस्था रहेकोले पनि विगतको बदला लिने सुरमा नेपाली टिम छ । नेपाल र जोर्डनबीच सोमबार नेपाली समय अनुसार राती ९:४५ बजे खेल सुरु हुनेछ ।

नेपालले एसियन कप खेल्न यस्तो छ समिकरण

२१ महिनाअघि ताइपेइविरुद्ध अवे खेलमा जित हासिल गरेको नेपालले बिहीबार कुवेतमा भएको घरेलु खेलमा पनि जित हासिल गर्यो । अंक तालिकामा ६ खेलमा ६ अंक जोड्दै नेपाल अब कम्तिमा चौथो स्थान रहने पक्का भएको छ । अंकविहिन ताइपेइ भने पुछारमा रहँदै अब एसियन छनोटको तेस्रो चरणमा पुग्न प्लेअफ खेल्नुपर्ने छ ।

नेपालको हकमा भने प्लेअफ नखेली सिधै एसियन छनोटको तेस्रो चरणमा स्थान बनाउने अवसर छ । तर त्यो त्यति सहज भने छैन । नेपालले अब बाँकी रहेको दुई खेलमध्ये कम्तिमा एक खेल जित्नैपर्ने समिकरण छ । र उक्त खेल जितेपछि अन्य समूहको नतिजाले पनि नेपालको भविष्य निर्धारण गर्छ ।

छनोटको नियम अनुसार प्रतिस्पर्धामा रहेका आठ समूहका चौथो स्थानमा रहने टोलीबीच शीर्ष ४ ले तेस्रो चरणमा स्थान बनाउनेछन् भने पुछारका चार र पाँचौ स्थान हासिल गर्ने टोलीले प्लेअफ खेल्नुपर्ने छ ।

तर समूह एचमा रहेको उत्तर कोरियाले छनोटबाट नाम फिर्ता लिएपछि उक्त स्थान निर्धारण गर्दा समूहको अन्तिममा रहेको टोलीसँगको नतिजा गणना हुने छैन । यसले नेपाललाई भने घाटा पुगेको छ । हाल चौथो स्थानमा रहने टोलीहरुको तालिकामा नेपाल पुछारमा छ र कम्तिमा जोर्डन र अष्ट्रेलियामध्य एक टोलीविरुद्ध जित हासिल गर्नैपर्ने समीकरण छ ।

अब बाँकी खेलमध्ये नेपालले जित हासिल गर्न नसकेको खण्डमा एसियन कप छनोटको तेस्रो चरण खेल्न प्लेअफ चरण पार गर्नुपर्ने हुन्छ ।