नेपालको ताइपेइ विरुद्ध सहज जित

Avatar photo
दिपेश कडेल
शुक्रबार, जेष्ठ २१, २०७८

काठमाडौं जेष्ठ २१ । कुवेतमा बिहिबार साँझ भएको फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ को छनोट अन्तर्गत समूह चरणको छैटौं खेलमा नेपालले चाइनिज ताइपेइमाथि सहज जित दर्ता गरेको छ ।

कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा ताइपेइमाथि नेपाललाई जित दिलाउन अन्जन विष्ट र नवयुग श्रेष्ठले एक एक गोल गरे ।

खेलको चौंथो मिनेटमा अन्जनले पेनाल्टीमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए ।

सन्तोष तामाङको फ्रिकिकमा ताईपेका चेङ्ग हाओले पेनाल्टी क्षेत्रभित्र ह्यान्डबल गरेपछि नेपालले पेनाल्टी पाएको थियो । जसमा अन्जनले सहजै गोल गरे ।

यससँगै अन्जनले ताईपेविरुद्ध लगातार दोस्रो खेलमा गोल गर्न सफल भएका छन् । यस अघि ताईपेको घरेलु मैदानमा नेपालले २(० को जित निकाल्दा अन्जनले दुई गोल गरेका थिए ।

यस जितसँगै नेपालले विश्वकप छनोटको समूह चरणमा चौथो स्थानमा रहने पक्का गरेको छ । नेपालको एसियन कप छनोटको तेस्रो चरणमा प्रवेश गर्ने सम्भावना पनि जीवित रहेको छ । नेपालको ६ खेलमा २ जित र ४ हारसहित ६ अंक रहेको छ । जितविहिन चाइनिज ताइपेइको ६ खेलमा कुनै अंक छैन ।

अष्ट्रेलियाले ४ खेलमा १२ अंक जोड्दा जोर्डन र कुवेतको ५-५ खेलमा समान १०-१० अंक रहेको छ । आज दोस्रो खेलमा अष्ट्रेलिया र कुवेतले प्रतिस्पर्धा गर्दैछन् ।