विश्वलाई नै तरंगित पार्ने गरि दश बर्षसम्म चलेको नेपाली माओवादी आन्दोलनको सामु यतिबेला भीमकाय चुनौतीको पहाड खडा भएको छ । बृहत शान्ति सम्झौता मार्फत शान्तिपुर्ण राजनीतिमा आईसकेपछि तत्कालिन संविधान सभाको चुनावमा पहिलो पार्टी भएको नेकपा (माओवादी) सत्ता शक्ति र स्वार्थका कारण क्षीण हुदै गएको तथ्यलाई नकार्न सकिने कुरा नै हैन । जनयुद्ध अबधीभर जनताबाट नै पालित, पोषित र सुरक्षण गरिएका नेता तथा कार्यकर्ताहरु जब जनता र गाउँलाईलाई चटक्कै भुलेर सहरको रमझम र सत्ताको विलासितामा डुब्न थाले त्यहीबाट आन्दोलनमा पहिरो जाने क्रम सुरु भएको अकाट्य तथ्यलाई आँखा चिम्लिन मिल्दैन ।
माओवादी आन्दोलन जुन लक्ष्य र जुन उदेश्य प्राप्तिका लागी सुरु भएको थियो, त्यसले निर्दिष्ट गरेको लक्ष्य अझै पनि छिन्नभिन्न अवस्थामा नै छ, केही पुरा भएका पनि संस्थागत हुन सकेका छैनन अझ धेरै पुरा हुन बाँकी नै छ । माओवादी आन्दोलनले तय गरेको लक्ष्य पुरा नहुन्जेल विभाजित माओवादी आन्दोलन फेरी एकपटक एकताबद्ध भएर अघि बढ्ने हो भने नयाँ शिराबाट नेपालको माओवादी कम्युनिष्ट आन्दोलन एकपटक जुर्मुराएर उठ्नेछ । त्यसको लागी शान्ति प्रकृयामा आईसकेपछिको अवस्थामा सवैबाट भएका गल्ती कमीकमजोरीको निर्मम आत्मसमीक्षा गरेर नयाँ ढगले अघि बढ्ने प्रण गर्न जरुरी छ ।
विभिन्न टुटफुट र आरोह अवरोहका कारण थिलोथिलो भएको माओवादीलाई त्राण दिनको लागि नेतृत्वपक्तिले बामपन्थी एकताको नाममा आम कार्यकर्ताहरुको वैचारिक मन्थन, तल्लो तहसम्मको बहस र छलफल विना एमालेसँगको एकता अघि बढाउने काम ग¥यो त्यसमा बैचारिक आधार, कार्यकर्ताको चाहना र आम जनताको भावना भन्दा पनि केही तत्वहरुको व्यक्तिगत महत्वकाँक्षा, सत्ता शक्तिको असिमित लालसा र कुटील षड्यन्त्रलाई कार्यान्वयन गर्ने प्लेटफर्म बनाउने अभिलाषा छिपेको थियो भन्ने विषय अहिले आएर दिनको घाम जतिकै छर्लङ हुन पुगेको छ । जनयुद्धको समयमा र पछि पनि माओवादी र समग्र माओवादी आन्दोलनप्रति विषबमन गरिरहने व्यक्ति माओवादीसँग एकता गर्न तयार हुनुमा नै केही षड्यन्त्र पक्कै छ भनेर बुझ्न नसक्नु माओवादी नेतृत्वको पनि कमजोरी पक्कै छ । माओवादीले आत्मालोचना गर्न किन्चित विलम्ब गर्नु हुदैन ।
कमजोर धरातलमा टेकेर बनेको एकता दिर्घकालसम्म टिक्नेमा अधिकांस कार्यकर्ता र जनता विश्वस्त त थिएनन् तर जनसंख्याको दुईतिहाई जनता वामपन्थी हुँदाहुदै पनि अन्य राजनैतिक शक्तिहरुले हालीमुहाली चलाईरहेको अवस्थामा देश विकास र समृद्धिको लागि पनि माओवादी–एमाले गठबन्धनलाई बहुमत दिन जनता लालायित भएका थिए । तर विडम्बना जतिसुकै बहुमत भएपनि राज्यसत्ता नेतृत्वकर्तामा जनता र देशप्रतिको जिम्मेवारीबोध नहुदा देश र जनताले बर्बादी सिवाय केही नपाउने रहेछ भन्ने पुष्टि देशको वर्तमान अवस्थाले गराएको छ । अन्ततः राज्यसत्तामा भित्रिएको सेटिङको कारण अध्यादेश, संसद विघटन हुदै अदालतमार्फत वामपन्थी एकतासमेत विघटन गराइएको छ जसको सवैभन्दा बढी नोक्सान माओवादी केन्द्रलाई पर्न गएको छ । संसदीय व्यवस्थालाई ध्वंस गर्दै नया जनवादी व्यवस्थाको स्थापना गर्न जनयुद्धको सुरुवात गरेको माओवादी संसदीय व्यवस्थामै प्रवेश गरेर कच्चा खेलाडी सावित हुन पुगेको छ । यो असफलताबाट पाठ सिकेर नयाँ ढंगको विचारको संष्लेषण गदै अघि नबढ्ने हो भने माओवादी आन्दोलन कहाँ पुग्ने हो केही भन्न सकिने अवस्था छैन ।
नेकपा टुक्रिएर एमाले र माओवादी केन्द्र हुदै गर्दा “माओवादीका सांसदहरु नै माओवादी केन्द्र त्यागेर किन एमाले रोजे ?” यो प्रश्नको जवाफ झटपट दिदा उनीहरु पदलोलुप भए, अवसरवादी भए, गद्दार भए भनेर जवाफ दिन सजिलै भए पनि अबको माओवादी आन्दोलनलाई नविन शिराबाट उठान गर्नको लागि त्यतिले मात्रै पुग्नेवाला छैन ।
नेतृत्वको मन–विश्वास जितेरै मुख्य ठाउँमा पुगेकाहरुमा नै यो किसिमको मानसिकता, विचलन विकसित हुनुको प्रमुख कारण के हो ? अध्ययन गर्न जरुरी छ कि छैन ? मरे शहीद बाँचे मुक्ति भनेर आफ्नो व्यक्तिगत सर्वस्व त्यागेर क्रान्तिको महासमरमा होमिएकाहरु केहीलाई अपवाद मान्ने हो भने अधिकांश आफ्नो र परिवारको हातमुख कसरी जोड्ने भन्ने चक्करमै गोलचक्कर काटिरहेका छन् ।
नेतृत्व बाँचे आन्दोलन बाँच्छ र आन्दोलन बाँचे देशले मुक्ति पाउँछ भनेर छात्तीमा गोली थाप्न तयार भएकाहरु शरीरभरि गोलीका छर्राहरु बोकेर यतिबेला खाडीमा पसिना चुहाईरहेका छन् । बुर्जुवा शिक्षाको आवश्यकता छैन र जनयुद्ध सफल भएपछि योग्यता र क्षमता अनुसारको काम गरेर खाने वातावरण सबैले पाउँछ भन्ने आश्वासनको पछि सम्पुर्ण भविष्य होमेर लागेकाहरु हरियो पासपोर्ट बोकेर चुपचाप बिदेशतिर लाग्न बाध्य हुनु र हिजो माओवादी आन्दोलनको विरुद्ध हदैसम्मको निकृष्ट तरीकाले आन्दोलन र आन्दोलनमा लागेकाहरुलाई सिध्याउन हरतरहले लागि परेकाहरुको नै पार्टीमा हालीमुहाली हुनु माओवादी आन्दोलन विघटनको दिशामा तीब्र गतिमा ओरालो लाग्नु हैन ?
आन्दोलनप्रति असिम माया हुनेहरु सधै नेतृत्वलाई सकरात्मक आलोचना गरिरहे खवरदारी गरिरहे त्यसैले उनीहरु नेतृत्वको रोजाईबाट सधै टाढा रहेपनि संकटको अवस्थामा पनि विचलित नभई मुलधारमै डटिरहेको छन् तर हिजो आन्दोलनका विरुद्धमा रहेकाहरु अहिले आएर नेतृत्वको नजिक रहेर चाकडी गर्ने, प्रशंसाको पुल बाँध्ने र लिस्नो चढाउदैमा त्याग तपस्या र बलिदानबाट आएका कार्यकर्ताहरुलाई पन्छाउदै उनीहरुलाई अगाध विश्वास गर्ने र ठुलाठुला जिम्मेवारी सुम्पने दृष्टता गरेकै कारण शंकर पोखरलहरुले खुच्चिङ ठोक्ने स्थिती पैदा भएको छ ।
नेता र कार्यकर्ता÷जनताको सम्वन्ध माछा र पानीको हुन्छ । नेता भनेका माछा हुन् र जनता-कार्यकर्ता भनेका पानी हुन् । पानीबिना माछा बाँच्न सक्दैन भनेर प्रशिक्षण दिने नेताहरु आफुलाई एक्वेरियमको पानीमा बाँच्ने माछा बन्न पाउँदा भाग्यमानी सम्झिन थालेका छन् यही नै अहिलेको माओवादी आन्दोलनको विडम्बना हो ।
संकटमा आश्रय दिने जनता, अप्ठ्यारो अवस्थामा छात्तीमा गोली थाप्ने, कार्यकर्ता र गलत बाटोमा लाग्दा आलोचना गर्दै सहि बाटोमा हिड्न प्रेरित गर्ने सहयोद्धा स्वीकार्न नसक्नु नै माओवादी आन्दोलनको दुर्गतिको कारण हो ।
माओवादी आन्दोलन यतिबेला टुक्राटुक्रामा विभाजित छ । यसमा आन्दोलनलाई वृहत देख्ने शक्ति भन्दा पनि स–साना कविलाईहरुमा विभाजित हुदा आफुलाई सर्वेसर्वा देख्ने माओवादी घटकहरुको चाहनाको कारण माओवादी आन्दोलन र आन्दोलनकर्मीहरुले पीडा भोग्न अभिषप्त छन् । माओवादी आन्दोलन र माओवादी पार्टी आजसम्म जसरी चल्दै आयो त्यसरी नै अब अघि बढ्न सक्ने अवस्था छैन ।
कहिले कसैसँग चुनावी तालमेल गरेर त कहिले कुनै वैचारिक छलफल र विचार मन्थन विना पार्टी एकता गरेर माओवादी आन्दोलनको मुल मर्म जोगिनेवाला पनि छैन । यही तरीकाले सत्ताभोगको अभिलाषा त पुरा होला तर माओवादी जनयुद्धले निर्दिष्ट गरेको लक्ष्य झन् क्षीण हुदै जाने र संसदीय दलदलमा फस्दै जाने देखिन्छ ।
अध्यक्ष कमरेड प्रचण्डले एउटा प्रशिक्षणको दौरानमा भन्नुभएको थियो “कमरेडहरु हामीले पार्टीलाई शुद्धिकरण गर्ने हो भने सवैभन्दा पहिले आफ्नै टाउकोमा आगो लगाउनु पर्छ ।” अध्यक्ष कमरेडको उक्त मन्तव्यलाई आत्मबोध गर्दै आज माओवादी आन्दोलनले भोगेको दुर्गतिको सवैले आ–आफ्नो भागको जिम्मेवारी लिदै आफ्नो टाउकोमा आफै आगो झोस्ने हिम्मत गर्नुपर्छ । अनि मात्र माओवादी आन्दोलनले गति लिनेछ ।