धादिङ-नुवाकोट जोड्न पुल बन्यो, तर बाटो छैन

Avatar photo
Dhadingpost
शनिबार, चैत्र १४, २०७७

धादिङ चैत्र १४ । नुवाकोटको केउरेनी र धादिङको फोस्रेटार जोड्ने पुल सम्झौता भएको ७ वर्षपछि निर्माण सम्पन्न भएपनि बाटो अभावमा प्रयोगमा आउन सकेको छैन । त्रिशुली नदीमाथि बनेको १९२ मिटर लामो पुलले नुवाकोटको केउरेनी र धादिङको गल्छी गाउँपालिका १ फोस्रेटारलाई जोड्नुपर्ने थियो । सम्झौताअवधिभन्दा पुल झण्डै ३ वर्ष ढिला निर्माणसम्पन्न भएपनि फोस्रेटारखण्डमा बाटो नहुँदा पुल प्रयोगमा आउन नसकेको हो ।

पुल र सडक जोड्ने लिंक रोडमा केही स्थानीयको जग्गा रहेको र स्थानीयले क्षतिपूर्ति नपाई बाटो नदिने भनेकाले पुल र सडक जोड्न नसकिएको स्थानीय रमेश ढुङ्गानाले बताए । यो पुल सञ्चालन आएपछि धादिङ सदरमुकाम जाने बाटो समेत छोटो हुनुका साथै धादिङकै विभिन्न क्षेत्र र नुवाकोटको तारुका लगायत क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् । तर, बाटोकै समस्याका कारण सो क्षेत्रका स्थानीय सास्ती भोग्न बाध्य बनेका छन् ।


पुल बनेपनि बाटो किन बनेन भन्ने रातोपाटीको प्रश्नमा गल्छी गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठले सडक विभागले कमजोरी गर्दा समस्या आएको बताए । उनले भने, ‘खासमा पुलको डिपिआर भएलगत्तै जग्गा तथा संरचना निर्माण रोक्का राख्नुपर्ने थियो । तर सडकले त्यसो गरेको रहेनछ ।

रोक्का नराखेपछि कसैले जग्गा किने, तर अहिले बाटोले खाने भएपछि क्षतिपूर्ति मागेका हुन् । अब हामीले क्षतिपूर्ति दिनसक्ने अवस्था छैन, त्यो दिने भनेको सडकले नै हो ।’ क्षतिपूर्ति दिएन भने के हुन्छ भन्ने प्रश्नमा अध्यक्ष श्रेष्ठले भने, ‘क्षतिपूर्ति भएन भनेपनि बाटो त खुल्छ नै । त्यस्तो भएमा हामी अर्कै रुट बनाएर भएपनि बाटो जोड्नेछौँ ।’ रातोपाटीबाट साभार