धादिङ फागुन ४ । अखिल नेपाल फुटबल संघ (एन्फा) एवं धादिङ जिल्ला फुटबल संघको सहयोगमा र द यिअर्ली ट्रष्ट, चक्रदेवी सामुदायिक समाज, नेपाल सिद्धलेकको आयोजनामा एन्फा फुटबल रेफ्री तालिम सम्पन्न भएको छ ।
नलाङ स्थित मोडेल एकेडेमीमा ७ दिनसम्म संचालन भएको यस एन्फा रेफ्री कोर्ष तालिममा चितवन, नवलपरासी, गोर्खा, मोरङ र धादिङ जिल्लाका ५ जना महिला सहित ३१ जना प्रशिक्षार्थीहरुको सहभागिता थियो ।
गोकुल थापा, रोजन श्रेष्ठ, लभ क्षेत्री, मधुसुदन खनाल, बिरेन्द्र पाण्डे लगाएतका प्रशिक्षकहरुले तालिमलाई व्यावस्थापन र संचालन गर्नु भएको थियो जसमा १५ जना प्रशिक्षार्थीहरुलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पा एन्फा व्याज वितरण गर्नु भएको थियो । साथै सर्वोत्कृष्ट प्रशिक्षार्थीको रुपमा गणेश तामाङलाई फुटवल र खेलकुद सामग्रीद्वारा प्रशिक्षक लब क्षेत्रीले सम्मान गर्नु भएको थियो ।
फुटबल खेलकुदलाई मर्यादित एवं सुधार गर्न र स्थानीय फुटबल खेलप्रेमीहरुलाई व्यावसायिक एवं दक्ष बनाउदै लैजानको लागी उक्त तालिम संचालन गरिएको नलाङ मोडेल एकेडेमीका प्रिन्सिपल बलराम सिलवालले बताउनु भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्मा छिरिङ शेर्पाको प्रमुख आतिथ्यतामा र धादिङ जिल्ला फुटबल संघका अध्यक्ष दिपक खतिवडा, एन्फा रेफ्री संयोजक गोकुल थापा, सिद्धलेक गाउँपालिका वडा नंं. २ का वडा अध्यक्ष कमल ब. गुरुङ, सिद्धलेक गाउँपालिकाका शिक्षा युवा तथा खेलकुद संयोजक एवं वडा नंं. ४ अध्यक्ष रामहरी बराकोटी लगायतको आतिथ्यता रहेको सोमबार भएको समापन कार्यक्रमका सभापति एवम् चक्रदेवी सामुदायिक समाज नेपालका संरक्षक झंक ब. सिलवालले बताउनु भयो ।