धादिङ माघ २७ । अखिल नेपाल फुटबल संघ (एन्फा) को सहयोगमा र धादिङ जिल्ला फुटबल संघ र चक्रदेवी सामुदायिक समाज, नेपाल सिद्धलेक २ (नलाङ) को संयोजनमा फुटबल रेफ्री तालिम सुरुभएको छ ।
नलाङ मोडेल एकेडेमी र द यिअर्ली ट्रष्टको व्यवस्थापनमा सुरु भएको उक्त एन्फा रेफ्री कोर्ष २०२१ (क्याट-४) नलाङ मोडेल एकेडेमीमा संचालन भएको हो ।
७ दिनसम्म संचालन हुने यस तालिममा चितवन, नवलपरासी, गोर्खा र धादिङ जिल्लाका ५ जना महिला सहित ३२ जना प्रशिक्षार्थीहरु सहभागि छन् । तालिमलाई गोकुल थापा, रोजन श्रेष्ठ, लभ क्षेत्री, शैलेश जोशी लगाएतले सहजिकरण गर्ने बताईएको छ ।
फुटबल खेलकुदलाई मर्यादित एवं सुधार गर्न र स्थानीय फुटबल खेलप्रेमीहरुलाई व्यावसायिक एवं दक्ष बनाउदै लैजानको लागी उक्त तालिम संचालन गरिएको नलाङ मोडेल एकेडेमीका प्रिन्सिपल बलराम सिलवालले धादिङपोष्टलाई बताउनु भयो ।
एन्फा रेफ्री कोर्ष २०२१ (क्याट-४) तालिम उद्घाटन कार्यक्रममा एन्फा रेफ्री कोर्षका संयोजक गोकुल थापाको प्रमुख आतिथ्यता एवं धादिङ जिल्ला शिक्षाविद श्री बिष्णु प्रसाद सिलवाल, सिद्धलेम गापा वडा नं. २ का वडा अध्यक्ष कमल गुरुङको विशिष्ट आतिथ्यतामा र धादिङ जिल्ला फुटबल संघका महासचिव रामहरी थापाको आतिथ्यता रहेको थियो ।