कक्षा १२ को नतिजा आज सार्वजनिक हुने

Avatar photo
Dhadingpost
सोमवार, माघ १९, २०७७

काठमाडौं माघ १९ । कक्षा १२ को नतिजा आज सार्वजनिक गर्न बिहान १० बजे बोर्डको बैठक बोलाइएको अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताए ।

आइतबार नतिजाको प्रक्रिया हेरेको जानकारी दिदैँ उनले केही समस्या नदेखिए आज (सोमबार) नतिजा सार्वजनिक हुने बताए ।
बोर्डले यस वर्ष कक्षा १२ मा ४० प्रतिशत पूर्णांकको मात्र परीक्षा लिएको थियो । ४० प्रतिशत मूल्यांकन कक्षा ११ को नतिजाको आधारमा र २० प्रतिशत आन्तरिक मूल्यांकन गरिएको छ । परीक्षामा देशभरबाट चार लाख ३३ हजार दुई सय परीक्षार्थीले सहभागी हुन आवेदन दिएका थिए ।

बोर्डले गत पुसमध्यसम्ममा कक्षा १२ को नतिजा सार्वजनिक गर्ने लक्ष्य राखेको भएपनि बिद्यालयले पठाएको प्राप्ताङकमा समस्या हुँदा ढिला भएको बोर्डले जनाएको छ। होम सेन्टरमा परीक्षा चलेको र उत्तरपुस्तिकासमेत विद्यालयमै परीक्षण भएर बोर्डमा आएकोमा ती व्यवस्थित नहुँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक हुन नसकेको हो ।

देशभरका चार हजार एक सय पाँच परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । कोभिड– १९ का कारण यस वर्षको परीक्षामा पूर्णांक र समय घटाएर राष्ट्रिय परीक्षा बोर्डले परीक्षा सञ्चालन गरेको थियो । कक्षा १२ को परीक्षामा सहभागी हुने सबै विद्यालयमा होमसेन्टर कायम गरिएको थियो ।