अदालतमै भेष बदलेर भागे विप्लव नेता दर्नाल (विकल्प)

Avatar photo
Dhadingpost
पुस ४, २०७७

काठमाडौं पुस ४ । माओवादी कार्यकर्ताहरुले जनयुद्धको क्रममा जेलबाट भाग्न विभिन्न उपायहरु अवलम्बन गरेको घटनाक्रमहरु त सुनिएका हुन् । तर पछिल्लो समय नेत्र विक्र चन्दको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टी आर्थिक विभाग प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प) पनि चलाखी पूर्ण तरिकाले अदालतबाटै भेष बदलेर फरार भएको घटना सार्वजनिक भएको छ ।

अर्थ विभाग प्रमुख दर्नालले अदालत परिसरमै भेष बदलेपछि प्रहरीले अर्कै मान्छेलाई पक्राउ गरेर हिरासत राखेको थियो। अर्थ विभाग प्रमुख भने प्रहरीको पञ्जाबाट फरार हुन सफल भएका छन् । अर्थ विभाग प्रमुख बनेर अर्कै मान्छे हिरासत पुगेपछि सिपाहीदेखि एसएसपीसम्मलाई प्रष्टीकरण सोधिएको छ ।

घटना कसरी भयो भन्नेबार प्रहरी प्रधान कार्यालय गम्भीर रुपमा लिएर छानबिन सुरु गरेको छ । दर्नाल कसरी उम्किए भन्नेबारे महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी किरण बज्राचार्य, महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी दीपक थापा, महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी तारा थापालाई प्रष्टिकरण सोधिएको बताईएको छ ।

प्रहरीले विप्लव नेतृत्वको नेकपाका अर्थ विभाग प्रमुख प्रमुख प्रेमबहादुर दर्नाल (विकल्प) र अर्थ विभागकै अर्का सदस्य तथा जिल्ला सेक्रेटरी सञ्जीव नेपाली (सुवर्ण) लाई मंसिर ५ गते बागडोलबाट पक्राउ गरेको थियो ।