धादिङ मंसिर २६ । धादिङको सिद्धलेक गाउँपालिका स्थित सलाङका जनप्रेमी नेताका रुपमा परिचित खिनबहादुर थापा मगरको आज स्मृति दिवस मनाईदैछ ।
तात्कालिन जनयुद्धको क्रममा २०६० मंसिर २६ गते तात्कालिन विद्रोही पक्ष (माओवादी) कार्यकर्ताहरुले नेकपा (एमाले) का नेता खिनबहादुर थापाको हत्या गरेका थिए ।
जनतामा स्थापित नेताका रुपमा चिनिने थापाको स्मरणमा खिन बहादुर थापा मगर स्मृति प्रतिष्ठानले आज सलाङ मैदानमा योजना आयोगका उपाध्यक्ष डा. पुष्प कडेलको प्रमुख आतिथ्यतामा स्मृति दिवस मनाउने भएको छ ।
उक्त स्मृति दिवस कार्यक्रममा संघीय सांसद भुमि त्रिपाठी र खेम लोहनी जिल्ला अध्यक्ष नेत्र पौडेल लगायतका नेताहरुको आतिथ्यता रहने नेकपा प्रतिष्ठानले जनाएको छ ।
स्व. खिन बहादुर थापा बारे जानकारी
खिनबहादुर थापा मगर ०३६ साल देखि राजनीतिमा लाग्नु भएको हो । सलाङमा उहाँको राजनीतिक सहकर्मी गोपाल थापा हुनुहुन्थ्यो । खिन बहादुर पञ्चमुखीको शिक्षक हुनुहुन्थ्यो भने गोपाल किसान ।
०३६ सालमा भएको बहुदल कि निर्दल भन्ने जनमत संग्रहमा उहाँहरु बहुदलको प्रचारकर्ताको रुपमा रहनु भएको थियो । उहाँहरुलाई तात्कालि मालेका नेताहरु मिनराज कडेंल, राजन्द्र पाण्डे, देवराज त्रिपाठीले प्रशिक्षित गर्नुभएको थियो ।
यो सँगै राजनीतिमा होमिनु भएका खिनराजले शिक्षण पेशा छाडेर पूर्ण रुपमा राजनीतिमा लाग्नु भयो भने, गोपाल पनि किसान संगठनको जिल्ला कमिटि सदस्य बन्नु भयो ।
राजनितिक दौरानका क्रममा तात्कालिन माओवादीले संचालन गरेको जनयुद्धको समय सम्म सलाङ्बाट माले बन्दै राजनीतिक यात्रा गरेका यी दुई जनाले नेकपा एमालेको जिल्ला स्तरिय पहुँच बनाई सक्नु भएको थियो ।
मुलुक द्वन्दमा होमिए संगै सलाङका इन्द्र कुमार थापा, कर्ण बहादुर थापा (सेनाको लप्टन), खिन बहादुर थापा र गोपाल थापा माओवादीको वारेन्टमा परे । यो कुरा थाहा हुँदा हुँदै पनि जनतामा जान उहाँहरुले छाड्नु भएन ।
२०६० साल मंसिर २५ गते तात्कालिन माओवादी कार्यकर्ताले इन्द्र कुमार थापा, कर्ण बहादुर थापा (सेनाको लप्टन), खिन बहादुर थापालाई घरबाटै हपहरण गरे । यो अपहरणमा गोपाल थापा भने पर्नुभएन । साथीहरु अपहरणमा पर्नुभयो भन्ने सुन्ना साथ आफू सुरक्षित स्थानतर्फ गएको गोपाल थापा बताउनु हुन्छ ।
माओवादी कार्यकर्ताहरुले इन्द्रबहादुरलाई अपहरण पछि घरमै ल्याएर छाडेका थिए भने कर्ण बहादुर थापा (सेनाको लप्टन) लाई पनि छाडेका थिए (उहाँलाई कस्तो अवस्तामा कहाँ छाडेका थिए भन्ने बारे बुझ्न खोज्दा सम्पर्क हुन सकेन) तर खिनबहादुर थापालाई भने माओवादी कार्यकर्ताले छाडेनन् ।
गाउँमा राती गोलि पड्किएको आवाज सुनियो । भोलि पल्ट मंसिर २६ गते बिहान खिनबहादुर थापा मगरको विभत्स हत्या भएको अवस्थामा शव फेला परेको थियो । (गोपाल थापा सँग गरिएको कुराकानीमा आधारित)