
काठमाडौं मंसिर २५ । लोकसेवा आयोगको कार्यालय सुर्खेतमा सङ्गीत तर्फको परीक्षामा अर्काको परीक्षा दिँदै गरेका आठ जना नक्कली परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार पक्राउ पर्ने आठ जना नक्कली परीक्षार्थीमा भगवतीमाई गाउँपालिका–७ दैलेख निवासी कमल विकको स्थानमा परीक्षा दिने सोही गाउँपालिकामा बस्ने २३ वर्षीय तिलक विक, गुराँस गाउँपालिका–२ दैलेख बस्ने रणबहादुर रावललको स्थानमा सोही ठाँउका १९ वर्षीय रामबहादुर कार्की रहेको प्रहरी निरीक्षक कनक शाहीले बताउनु भयो ।
त्यस्तै भगवतीमाई गाउँपालिका–७ दैलेख बस्ने चक्रराज विकको स्थानमा परीक्षा दिने सोही ठाउँका २५ वर्षीय दीपेन्द्र विक, नारायण नगरपालिका–७ दैलेख चन्द्रबहादुर रानाको ठाउँमा परीक्षा दिने चामुण्डा बिन्द्रासैनी नगरपालिका–५ दैलेख २० वर्षीय रमेशप्रसाद न्यौपाने पक्राउ परेका छन् ।
त्यसैगरी भेरी नगरपालिका–१० जाजरकोट बस्ने धनबहादुर डाँगीको नाममा परीक्षा दिने वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेका १९ वर्षीय याम पौडेल, पञ्चपुरी नगरपालिका–२ सुर्खेतका यज्ञ बिसीको नाममा परीक्षा दिने सोही ठाउँका १८ वर्षीय उत्तम बिसी, राजापुर नगरपालिका–१० बर्दियाका अर्जुन सुनारको नाममा परीक्षा दिने पञ्चपुरी नगरपालिका–१ सुर्खेतका २० वर्षीय रुद्रप्रसाद शर्मालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
