अनुभूति: २८ दिनपछि कोरोना मुक्त भएँ

Avatar photo
Dhadingpost
सोमवार, मंसिर १५, २०७७

म एउटा स्वास्थ्यकर्मी, यो कोरोना संकटबाट कसरी जोगिने र संक्रमित भै हाले के गर्ने ? आम समुदायमा सचेतना जगाउनु पर्ने व्यक्ति आफै कोरोनाको कारण २८ दिन सम्म अस्पताल बस्नु पर्यो ।

कोरोना केहि हैन, भन्ने समुदायका केहि मानिसहरुलाई मैले आफु संक्रमित नहुँदा पनि संवेदनशील बनौं है ? भौतिक दुरी कायम गरौं, स्वास्थ्य सुरक्षाका उपायहरुलाई पुर्ण रुपमा पालन गरौं भन्ने गर्थे । म संक्रमित हुन पुगेपछि मबाट प्रवाह हुने सेवाहरु बन्द भए ।

म २८ दिन अस्पतालको बसाई पछि अहिले कोरोनाबाट मुक्त त भएँ, तर स्वास्थ्यमा देखिएका समस्याहरु अझै निको भैसकेका छैनन् । त्यसैले अहिले पनि आम नागरिकहरुलाई कोरोना संक्रमणलाई ख्याल ख्याल नसोचौं भन्न चाहान्छु ।

मेरो कार्यक्षेत्र गंगाजमुना गाउँपालिका स्थित बुढाथुम स्वास्थ्य चौकी भएपनि यस गाउँपालिकाको ति, ग्रामीण भेगका दूर-दराजमा रहेका महिला दिदी बहिनीहरूको भिडियो एक्स-रे गर्दा गर्दै, उहाँहरुको धन्यवादलाई शिरोपर गरेर फर्कदा फर्कदै सुक्ष्मरुपमा म भित्र कोरोना भाईंरस प्रवेस गरेछ ।

सामान्य रुघाखोकी होला, भनेर कार्तिक ८ गते देखि दशैंभर होम आइसोलेशनमा बसें तर निको भएन र कार्तिक १७ गते आरूघाट गाउँपालिका स्थित आरूचनौटे प्राथमिक स्वास्थ्य केन्द्रबाट पीसीआर परिक्षण गराएँ ।

पीसीआर रिपोर्ट पोजेटिभ आयो । यो सँगै मेरो होमआइसोलेशन परिवर्तन भै आरूचनौटे प्राथमिक स्वास्थ्य केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा ११ दिन आइसोलेशनमा बसें । मलाई ज्वरो आउँने टाउको दुख्ने मात्रै नभएर स्वास प्रस्वासमा गम्भीर समस्या हुन थाल्यो । शरिरमा अक्सिजनको लेभल घट्यो । यो सँगै आरूचनौटे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सहित स्वास्थ्यकर्मीको सल्लाहमा काठमाडौं रिफर भएँ ।

त्यसपछि काठमाडौं बलम्वु स्थित शसस्त्र प्रहरीको हस्पिटलमा १७ दिन भर्ना भएर बस्नु पर्यो । डाक्टरहरुको निरन्तरको प्रयास हुँदा समेत मलाई निकै गाह्रो भएपछि हाईकेयरमा राखेर उपचार गरियो ।

दशैं त खल्लो भयो नै, १४ दिनको आइशोलेसन बसाई पछि स्वतः कोरोना निको भएर तिहार मनाउँला भन्ने मेरो सपना भने भिन्न बन्यो । कोरोना संक्रमणको कारण तिहार जस्तो चाडमा दाजुभाइ सम्झदै छट्पटिदै आईसोलेशनमा बस्नु पर्यो ।

अस्पतालको बेडमा बसेर आफ्नो पिडा भुलाँउदै म सँधैं भन्ने गर्थे, हे भगवान, यो कोरोना कसैलाई नलागोस्, लागेकालाई पनि छिटो निको होस् । छिटो यसको नियन्त्रण होस् । विधिको विडम्बना पनि विचित्रको छ, सोचे जस्तो कहाँ हुँदो रहेछ र ।

निको भएर छिट्टै आफ्नो कार्यक्षेत्र फर्कने र आम नागरिकहरुको सेवाको लागि खटिने चाहाना हुँदा हुँदै पनि म २८ दिन सम्म अस्पताल रहनु पर्यो । मलाई सास फेर्न निकै गाह्रो हुन्थ्यो, टाउको फुटेसरी दुख्थ्यो, अब सधैंका लागि विदा हुने होकि ? जस्तो लाग्थ्यो ।

यस्तो बेला मलाई माया गरेर फोन गर्ने म्यासेज गर्ने मेरा इष्टमित्र, दाजुभाई, दिदी बहिनी, बा, आमा कसैसँग पनि बोल्न सक्ने अवस्थामा नै थिईन । कोरोनाले मेरो घाँटी र फोक्सोमा मात्रै असर गरेन हातका औंलाहरु नचल्ने अवस्था सृजना भएको थियो ।

अहिले विस्तारै हातका औंलाहरु चल्न थालेका छन्, तर असाध्यै दुख्छ, अब चाहिँ बाँच्छु कि भन्ने अनुभूतिका पैदा भएको छ । कोरोना संक्रमणको रिपोर्ट नेगेटिभ आए सँगै एक महिनाको अस्पताल बसाई पश्चात म घायल हुँदै अस्पतालबाट डिस्चार्ज भई फर्केको छु । तर नियमित अस्पतालको सम्पर्कमा रहने गरि ।

जब मलाई कोरोना लागेको पुष्टि भयो, साथीहरूको सान्त्वनाको फोन आउन थाल्यो, आत्मबल बढाउनु, केहि हुँदैन कोरोना सजिलै जितिन्छ भनेर । मलाई पनि लाग्थ्यो कुनै दीर्घरोग छैन यस अर्थमा संक्रमित भैहाले पनि सजिल्यै जितिन्छ । तर परिस्थिति ठीक उल्टो भयो । धेरै थला परेँ, म उठ्न नसक्ने गरि प्रहरी हिराशदमा परेजस्तो, महिना दिन सम्म हस्पिटलको आइसोलेशन बेडमा छट्पटिदै रहेँ । छिन छिनमा बाँच्ने यति नै होला जस्तो गरि असाह्य हुन्थ्यो ।

फेरि पनि म सबैलाई आव्हान गर्छु । कोरोनालाई सामान्य रुपमा नलिनु होला लक्षण देख्ने बित्तिकै स्वास्थ्य संस्था जानुहोला डराएर भाग्ने भन्दा पनि बेलैमा सचेत रहनु होला भन्न चाहन्छु ।

म एक महिनाको अस्पताल बसाई पश्चात बल्ल बल्ल बाँचेर फर्किएको छु । मेरो स्वास्थ्य लाभको कामना गर्नुहुने सबैलाई धेरै धेरै धन्यवाद तथा नमन गर्न चाहन्छु । आरुघाट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत मेरो प्रिय भाई एकदेव खनाल, स्वास्थ्य संयोजक विजय श्रेष्ठ, केशरबहादुर भण्डारी, आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर कृष्णहरी श्रेष्ठ, सहकर्मी स्वास्थ्यकर्मीहरु, एम्बुलेन्स चालक, सशस्त्र प्रहरी अस्पताल बलम्बुका डीएसपी मेरी प्रिय बहिनी अनिता अधिकारी, डा. रोशन झा, डा. रोशन पराजुली लगायत सम्पुर्ण अस्पताल परिवार विशेष धन्यवादका पात्र हुनुहुन्छ ।

मेरो अबको जीवनकालमा उहाँहरूको नाम अमिट छाप बनेर रहिरहनेछ । उहाँको सेवा मायाँ सल्लाह र सद्भावले मैले नयाँ जीवन पाएको अनुभूति गरेको छु । अझ महत्वपूर्ण कुरा म आफै स्वास्थ्यकर्मी बिरामीका लागि कस्तो मायाँ ममता र स्नेह प्रकट गर्ने भन्ने महत्वपूर्ण जानकारी सिक्ने मौका समेत पाएँ ।

यो अवधिमा बिरामीलाई हेर्ने दृष्टिकोण, गर्ने माया, दिने सेवाले पनि विरामीको आत्मबल बढ्ने महत्वपूर्ण कुरा मैले थप सिक्ने मौका समेत पाएँ । मेरो स्वास्थ्य अवस्था प्रतिकूल भएकोले मेरा शुभचिन्तक साथी बुवाआमा दाजुभाई दिदी बहिनीहरुले धेरै माया गरेर फोन म्यासेज गर्नु भयो, फोन उठाउन र म्यासेज रिप्लाई गर्न सकिन यसमा माफि माग्न चाहान्छु ।

तपाईहरुको माया ममता स्नेहलाई मनमा सजाउँदै अबका दिनमा सबैको रिप्लाई दिने र केही समय पश्चात् हजुरहरुको प्रिय सुनिता सिस्टर पहिल्यकै अवस्थामा फर्कने प्रतिबद्धता जनाउन चाहन्छु । फेरि पनि मरो स्वास्थ्य प्रति चासो राख्ने सबैलाई विशेष धन्यावाद दिन चाहान्छु । (लेखक अधिकारी, धादिङको गंगाजमुना गाउँपालिका स्थित बुढाथुममा कार्यरत हुनुहुन्छ।)

यो पनि