आइसोलेशनबाट स्वास्थ्यकर्मी बहिनीको दाजुलाई मन छुने चिठी

Avatar photo
Dhadingpost
सोमवार, कार्तिक २४, २०७७
  • हजुरकी प्रिय बहिनी विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना महामारीको युद्धमा अग्रपंक्तिमा लड्दा लड्दै आफैलाई गोली लागेर रण मैदानमा ढलेकी छे । अनि पिन्जडा रुपी आइसोलेशनमा मलमपट्टी गरिरहेकी छे ।

दाजुहरु
आत्मिय नमस्कार

आइसोलेशनमा हजुरहरुकी बहिनी आज सम्म ठिकै छे, र हजुरहरूको सु-स्वास्थ्य एवं दीर्घायुको कामना गरिरहेकी छे । दाजु, आँगनभरी सयपत्री मखमली र गोदावरी ढकमक्क फुलेका होलान् फाँट भरी सुनौला धानका बालाहरू झुलेका होलान् ।

ती लहलह झुलेका धानहरुका बाला र ढकमक्क फुलेका सुगन्धित फूल सुगन्ध सँगै आफ्नो प्रिय बहिनी आउने बाटो कुरि रहनु भएको होला । ती बृद्ध बुवा/आमा पनि आफ्नी छोरीको आगमनमा आतुर हुनुहोला । साथै साना भाइ बहिनी पनि ठुली दिदी कहिले आउनुहुन्छ भन्दै प्रश्न तेस्र्याउँदै होलान् । यस्पाली तिहारमा त एक हप्ता अगाडि छुट्टी लिएर आउनु है बहिनी भन्ने मेरो ठूलो दाजुको त्यो मधुर वाणी कानमा गुन्जिरहेको छ ।

म पनि नसक्ने भए तिमी छिट्टै बिदा मिलाएर आउ है भन्ने मेरा ती बृद्ध आमालाई के जवाफ दिने भनेर म टोलाई रहन्छु । साना अबोध भगवान जस्ता मेरा भाइबहिनीहरू मेरो अनुपस्थितिमा के सोच्लान भनेर म रुमल्लि रहेको छु ।

जव दाजुको फोनको घण्टी बज्छ, तव मेरा नयनबाट आसु धारा बग्न थाल्छन् । जव मेरो भाइ आरुघाट स्थित आइसोलेशनको गेटमा आएर दिदी अहिले कस्तो छ ? भन्छ तव मेरो मुटु भक्कानिन्छ, चिरिन्छ, मुटु चर्किन्छ, छाती भक्कानिन्छ बोल्न पनि सक्दिन । म जन्मिएर थाहा पाएदेखि आजसम्म कुनै तिहारको टीकामा हामी छुटेका थिएनौं ।

तिहार नजिकेर होला चारैतिर तिहारका गित गुञ्जन थालेका छन् । जति गित गुन्जन्छन मेरो मन तेति नै भक्कानिन्छ, थाल्छ । दाजु हजुरहरुकी बहिनी त्यति कमजोर त छैन तर पनि समय परिस्थितिले कमजोर बनाईदिँदो रहेछ । दाजु हजुरलाई अवगत नै छ कि हजुरकी प्रिय बहिनी विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना महामारीको युद्धमा अग्रपंक्तिमा लड्दा लड्दै आफैलाई गोली लागेर रण मैदानमा ढलेकी छे । अनि पिन्जडा रुपी आइसोलेशनमा मलमपट्टी गरिरहेकी छे ।

मलम पट्टी गर्दागर्दै बिस्तारै लक्षणहरु कम हुँदै गएको छ । बोल्न पनि गारो भएर कति हजुरको फोन मैले रिसिभ पनि गर्न सकिन । आइसोलेसनमा रहँदा र कोरोनाको पीडाले शरिर थिलथिलो भएको छ, कोरोना केहि होइन सजिलै जितिन्छ भन्ने साथीहरुको कुराहरुमा पूर्ण असमर्थ भएँ । स्वास्थ्यको क्षेत्रमा सेवा गर्दागर्दै सजगता अपनाउँदा अपनाउँदै पनि संक्रमित भएर सेवा दिन नसकेकोमा क्षमाप्रार्थी छु । दाजु हजुरहरूको माया ममता स्नेह प्राथना अनि मेरो दृढ आत्म विश्वासले अब छिट्टै स्वास्थ्य लाभ गरी वृद्ध बुबाआमा दाजुभाई तथा दिदी बहिनीहरुलाई भेटी फेरि आफ्नो सेवामा फर्कनेछु ।

दाजु,
यो वर्षको तिहारमा सयपत्री र मखमली उन्न सकिन । आइसोलेशनबाटै हजुरहरूको सु-स्वास्थ्य र दीर्घायुको कामना गर्दैछु, भने अर्को तिहारमा अवश्य सयपत्री र मखमली हजुरहरुको गलामा सजाउने छु । हजुरको दिर्घायुको कामना गर्ने छु । शुभ दिपावली, शुभ भाई टिका, शुभ तिहार ।