
धादिङ मंसिर १ । तिहार अर्थात् आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाई मनाइँदैछ ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहि आएको छ ।
भाइटिकामा प्रयोग हुने रंगको महत्व
विभिन्न रंगहरु लगाउनुको उदेश्य दाजुभाई र दिदीबहिनीको बीचमा माया, स्नेह, प्रेम, सद्भावना जीवन (रंगिन) होस् भन्ने हो । रंग लगाउँदा प्राकृतिक रंग लगाउनु पर्छ । चन्दन वा बेसार बाट पहेंलो दुवोबाट हरियो तिलको कालो टिका । यसले नराम्रो प्रभाव पार्दैन ।
- सेतो टिका साप्तिक रंगको प्रतिको हो । रंग प्राकृतिक हो ।
- हरियो रंगले हामीलाई जीवन्त बनाउँछ । शान्ति दिन्छ भन्ने मान्यता छ ।
- रातो रंग प्रेमको शक्तिको प्रतिक हो ।
- कालो रंग भुतप्रेत अर्थात कालो रंग लगाए अरुको आँखा लाग्दैन भन्ने चलन पनि छ ।
- सेतो सृखंण्डले हाम्रो त्वचालाई एकदम राम्रो प्रभाव पार्छ । पहेंलो रंग केशरी भनेको स्वास्थ्यको दृष्टिकोणबाट सर्वऔषधि भनेर भनिन्छ ।
दाजुभाइलाई तेल र पवित्र जलले घेरो हाल्नु भनेको मेरो दाजुभाईलाई कहिल्यै पनि कुप्रभाव नपरोस् भन्ने भनेर हो । यमराजको दृष्टि नपरोस् भनेर रक्षा गरिएको हो ।
भाइटिकाको साईत
नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११:३७ बजे दिएको छ।
भाइटिकाकाको पूजाविधि
तिहारको पाँचौं दिन दिदीबहिनीहरूले आफ्ना दाजुभाइलाई पाउदेखि शिरसम्म पूजा गरेर सुगन्धित तेल आदि कपालमा लगाएर तेल र जल लिएर तीन पटक परिक्रमा गरी विधिपूर्वक सप्तरङ्गी टीका लगाउने पर्वलाई भाइटीका भनिन्छ। काग तिहारदेखि नै अलगअलग पर्व भए पनि यिनीहरूको सम्बन्ध यमपञ्चकसँग रहेकाले पाँचै दिनको समान महत्त्व छ। कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा गोबलिपूजा, गोवर्द्धन पर्वत पूजा एवं पारिवारिक द्यूतक्रीडा गरेपछि द्वितीयाका दिन भाइटीकाको कार्य आरम्भ गरिन्छ ।
साँस्कृतिक पक्ष
यमुनाले आफ्ना दाजु यमराजलाई कसैले मार्न नसकोस् भन्ने कामना गर्दैभाइटिका लगाइदिएकी थिइन् । उनले यमराजलाई आफ्नै घरमा आउन निम्तो दिइन् अनि, तेल र दुबोले छेकेर, मखमली, सयपत्रीको माला लगाइदिएर भाइटिका लगाइदिइन् ।
यसरी भाइटिका लगाइदिने परम्पराको शुरुवात भयो । दाजुभाइलाई टिका लगाइदिनुभन्दा अघि ओखर फुटाउनु र अमिलोको पूजा गर्नुले नकारात्मक शक्तिहरु आफ्ना माइतीबाट टाढौ रहुन् भन्ने दर्साउँछ ।
तिहार कार्तिक कृष्णपक्षको त्रयोदशीदेखि लगातार पाँच दिनसम्म मनाइन्छ। यस अवधिलाई मृत्युका देवताको नाम जोडेर यमपञ्चक भनिए पनि वास्तवमा यो यमराजले आफ्नो कामबाट बिदा लिएर उत्सव मनाएको अवधि हो ।
पौराणिक आख्यानअनुसार मानिसले जीवनभर गरेका शुभाशुभ कर्मको लेखाजोखा गरी मृत्युपश्चात् त्यसअनुसार कर्मफल प्रदान गर्ने देवता यमराज हुन् । यमपञ्चकमा बहिनी यमुनाको निम्तो मानी भाइटीका लगाउन उनी पृथ्वीलोकमा आउँछन् । पृथ्वीमा पाहुनाको रूपमा आउने हुनाले यो समयमा यमराज र उनका दूतसमेतलाई पूजाआजा गरेर खुसी तुल्याउने चेष्टा गरिन्छ । मृत्यु शाश्वत सत्य हुँदाहुँदै पनि बाँचुन्जेल सुखमा रमाउने चेष्टा गर्नु मानवीय गुण हो । त्यसैले पनि साक्षात् मृत्युका देवताको सम्मानमा दीप जलाई वर्षभरि घरभित्र प्रवेश नगर्न तथा अपमृत्यु, दुर्घटना आदि नगर्न उनलाई आग्रह गरिन्छ ।
