आज गाई र गोरुको पूजा गरिदै, यस्तो छ, धार्मिक मान्यता

Avatar photo
Dhadingpost
आइतवार, कार्तिक ३०, २०७७

धादिङ कार्तिक ३० । तिहारको तेस्रो दिन गाई, गोवर्धन र गोरुको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईको पूजा गरी आजका दिन मीठामीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।

वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि पूजाआजा गरी मीठामीठा खानेकुरा खान दिने प्रचलन छ । यसैगरी कृषक एवं हलीलाई पनि पूजा गर्ने गरिन्छ ।

नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औंसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चांङ निर्णायक समितिले जनाएको छ ।

धार्मिक मान्यता

आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।

यसैगरी आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गर्ने गरिन्छ । द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको हो ।