वितृष्णा बन्दैछ : नेपालको राजनीति

Avatar photo
Dhadingpost
कार्तिक २७, २०७७

सामान्यत: राज्यको शासन व्यवस्था संचालन सम्बन्धी नीतिलाई राजनीति भनिन्छ प्रजाको शान्ति सुरक्षा कायम गर्ने, मौलिक अधिकारको कदर गर्ने, राज्यको शासन प्रणाली निर्धारण गर्ने, राष्ट्रिय र अन्तर्राष्ट्रिय नीतिको उपयुक्त ढङ्गले सन्तुलन गर्ने एक सामाजिक सिद्धान्तनै राजनीति हो । तर नेपालका सन्दर्भमा राजनीति एउटा फोहोरी खेल भएको छ ।

व्यक्तिगत स्वार्थमा लिप्त राजनीतिज्ञका कारण सुन्दर भाव बोकेको राजनीति शब्दप्रतिनै वितृष्णा पैदा भएको छ । विशेषत : आजको सचेत युवा वर्ग देशको राजनीतिक कुरीति कुसंस्कारप्रति रोष प्रकट गरिरहेको छ । भोलिको भविष्यका कर्णधार युवाहरु आजको राजनीतिक संस्कारप्रति सन्देह प्रकट गरिरहेका छन् । यस्तै कुरीति र कुसंस्कारले व्याप्त राजनीति फस्टाउदै जाने हो भने सुखी र समृद्ध नेपाल होइन,अनिश्चय र अन्धकारमय नेपाल दु:खी र दरिद्र नेपाली भएर बाँच्न विवश हुनेछन् ।

प्रकृतिले दिएको सुन्दर उपहार हराभरा नेपाल अदूरदर्शी राजनीतिकर्मीका कारण मरुभूमिमा परिणत हुदैछ । हाम्रो भाग्य र भविष्यको फैसला गर्ने देशको राजनीति लाजनीतिमा परिणत भएको छ । जुन दु:खको कुरा हो । राज्य संचालनका सबै नीतिहरुको मूल नीति राजनीति भएका कारण देशको सामाजिक ,आर्थिक, शैक्षिक ,भौतिक सबै क्षेत्रमा राजनीतिको प्रभाव पर्छ । जुन पर्नु स्वाभाविक पनि हो । तर नेपालका सन्दर्भमा त्यही मूलनीतिमै महामारी आएको छ ।

भ्रष्टाचार, नातावाद, कृपावाद, चम्चावाद, चाकडीवाद आदि इत्यादि रोगले नेपालको राजनीति नराम्रोसँग थलिएको छ । योग्यता र इमान्दारीताको कदर हुदैन । जसले चाकडी गर्न सक्यो उसैको राज हुन्छ । योग्य, सक्षम, राम्रो दखल भएका व्यक्ति भन्दा हाम्रो व्यक्तिको खोजि हुन्छ । उसैले राज्यका नीति नियम कार्यान्वयनमा डाडु पन्यूँ चलाउँदा अनि सुरु हुन्छ बेथिति ।

आफ्नो विवेकको प्रयोग गरेर राष्ट्रको हितलाई ध्यानमा राखेर होइन् आफ्नो नियुक्तिको हर्जाना तिर्न ‘हो’ मा ‘हो’ मिलाएर काम गर्न थाल्छ, सल्लाह दिन थाल्छ , अनि चल्छ देश । यस्तो विडम्बनापूर्ण अवस्थाबाट गुज्रिरहेको हाम्रो देश नेपाल र हामी नेपाली आज देशको राजनीतिप्रति वितृष्णा प्रकट गरिरहेका छौं ।

आज म यो देशमा केही न केही गर्छु भन्ने युवा शक्ति यो फोहोरी खेलबाट वाक्क दिक्क भएर राजनीतिक क्षेत्रबाटै पलायन हुने क्रममा छन् । भोलिको देशको शासन व्यवस्था संचालन गर्ने उम्दा युवा राजनीतिप्रतिको वितृष्णाका कारण यो क्षेत्रबाट टाढा बस्न खोज्नु दु:खद कुरा हो । भोलिको समृद्ध नेपाल निर्माण यिनै युवाहरुको पौरख हुनुपर्नेमा त्यसो हुन सकिरहेको छैन ।

वास्तवमा राजनीतिज्ञ भनेको राजनीतिका सम्पूर्ण मर्महरुलाई जान्ने , राजनीतिशास्त्रको ज्ञाता , कुटनीतिक व्यक्तित्व हुनु पर्ने हो । तर हाम्रो दुर्भाग्य हामीले त्यस्ता राजनीतिज्ञ पाउन सकिरहेका छैनौं । जसका कारण राजनीतिक क्षेत्रमा लागेर देश र जनताका लागि केही गर्छु भन्ने सोच बोकेका व्यक्तिहरु समेत यो क्षेत्रबाट निरास भएका छन् । फलत : हाम्रो देशको राजनीति नातानीति, कृपानीति हुदैँ लाजनीतितर्फ उन्मुख भइरहेको छ । यस्तो कुरीति-कुसंस्कारले युक्त नेपालको राजनीतिप्रति आजको जनमानसमा वितृष्णा पैदा भएको छ ।

(लेखक : चन्द्रोदय बहुमुखी क्याम्पस विशालटार धादिङका उप-प्राध्यापक हुनुहुन्छ )