अमेरिकी राष्ट्रपतीय निर्वाचन आज

Avatar photo
Dhadingpost
मङ्लबार, कार्तिक १८, २०७७

एजेन्सी कार्तिक १८ । आगामी चार वर्षका लागि निर्वाचित हुने विश्वकै शक्तिशाली पद मानिने अमेरिकी राष्ट्रपतिको निर्वाचन आज हुँदैछ । यस पदका लागि वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प र पूर्वउपराष्ट्रपति जो वाइडनबीच कडा प्रतिस्पर्धा हुने अड्कल काटिएको छ ।

कूल ३२ करोड नागरिक रहेको अमेरिकामा वालिग मताधिकारको सङ्ख्या २४ करोड रहेको छ ।अमेरिकामा मतदान गर्न १८ वर्ष पूरा भएको हुनुपर्छ । हुलाकमार्फत् मतदान गर्न पाउने व्यवस्था र निर्वाचनको मितिभन्दा एक साता अगाडिबाट शुरु हुने पहिल्यै मतदान गर्न पाउने व्यवस्था (अर्लि भोटिङ्ग) मार्फत करिब नौ करोड ३० लाख नागरिकले मतदान गरिसकेको तथ्याङ्क सार्वजनिक भएको छ ।

यसपटक अमेरिकामा करिब १५ करोड मतदाताले मतदान गर्ने अनुमान गरिएको छ । आज हुने निर्वाचनमा रिपब्लिकन र डेमोक्र्याट पार्टीको क्रम वर्चस्व रहेको सिनेट र काँग्रेसको कोर्स पनि परिवर्तन हुने अपेक्षा गरिएको छ ।

एक सय सिटको सिनेटमा अहिले रिपब्लिकनको ५३ सिट र डेमोक्र्याटको ४७ सिट रहेको छ । उता तल्लो सदन भनेर चिनिने काँग्रेसमा भने ४३५ सिटमा डेमोक्र्याटको २३२ सिट सहित वर्चस्व रहेको छ । यसपटक सिनेटको ३३ सिट र काँग्रेसको ४३५ सिटको निर्वाचन हुँदैछ । सिनेटरको कार्यकाल ६ वर्षको हुने भएकाले हरेक दुई वर्षमा एक तिहाइको चुनाव हुने गर्दछ भने काँग्रेसको भने हरेक दुई वर्षमा निर्वाचन हुने व्यवस्था रहेको छ ।

अमेरिकामा मङ्गलबार निर्वाचन भए पनि निर्वाचनको परिणाम आउन भने केही सातासम्म लाग्न सक्ने बताउँदै आइएको छ । सन् २०१६ मा एक सातामा सार्वजनिक भएको परिणाम यसपटक हुलाकमार्फत् गरिएको मतपत्र गणनाले केही बढी समय लिनसक्ने निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन् ।